Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना नियन्त्रणका लागि बजार बन्द गराउन सेना परिचालन


    बुधबार, कार्तिक ५ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दार्चुला। सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो ।

    महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार शिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेना समेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

    अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने गरेका छन् । व्यापारीले भने सुरक्षाकर्मीलाई छलेर व्यापार गर्ने गरेका छन् । मङ्गलबार प्रमुख जिल्ला अधिकारी पोखरेल, सुरक्षा अधिकारीहरुले पनि बजार क्षेत्रको अनुगमन गरेका थिए ।

    महाकली नगरपालिकामा कोरोनाको सङ्क्रमण फैलिरहेका बेला बजार क्षेत्र निर्वाधरूपमा खुला हुँदा झन् जोखिम बढ्ने प्रजिअ पोखरेलले बताए । आज मात्र नगरपालिकाका ५० जनामा कोरोना देखिएको छ । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या २५० नाघेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटरमा ६३ जनामा कोरोना देखिएपछि गण शिल गरिएको छ । सशस्त्रको गस्ती बन्द गरिएको छ । नगरपालिकाको मोहती क्षेत्र, बङ्गाबगडलगायतका क्षेत्रमा कोरोना दर बढ्दै गइरहेको छ । सुरक्षा मापदण्ड नपनाउँदा नगरपालिकाको बजार क्षेत्रमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको जनस्वास्थ्य अधिकृत जयराज भट्ट बताउँछन् ।

    मङ्गलबार मात्रै दुहु गाउँपालिकामा एक पुरुषको कोरोनाका कारण मृत्यु भइसकेको छ । धनगढीमा उपचार गराउँदै आएका नेपाल प्रहरीका पूर्व कर्मचारी समेत रहेका ती पुरुषको कोरोनाका कारण ज्यान गएको हो । जिल्ला प्रशासन कार्यालयले दुहुको वडा नं २ हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    दुहुमा एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भई आइसोलेसनमा बसिरहेकाले समुदायस्तरमा फैलिन नदिन सिल गरिएको हो । दशैं, तिहारका कारण बजार क्षेत्रमा भीडभाड भने यथावत छ ।

    बैंक, वित्तीय संस्था र कार्यालय खुला रहेका कारण बजारमा भीड बढेको हो । भारतबाट पेन्सन बुझ्ने व्यक्तिका कारण अहिले बजारमा भीड बढेको छ । पेन्सन बुझ्नेहरुका लागि तीन दिन नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुला गरिएको छ । अहिले धनगढी, काठमाडौं र भारतका विभिन्न शहरबाट आउने व्यक्ति क्वारेन्टिन नबसी सिधैँ गाउँ पठाइँदा गाउँमा समेत सङ्क्रमणको जोखिम बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार