Nepal Face
  • आइतबार, १० साउन २०८३
  • असई हत्या प्रकरणमा पक्राउ परेका मध्ये ७ जना सार्वजनिक


    मंगलबार, कार्तिक ४ २०७७
    660
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेकाे छ ।

    मंगलबार गरिएकाे पत्रकार सम्मेलनमा अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेकाे आरोपमा पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

     

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

    उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ ।

    गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो ।

    खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो ।

    उनीहरु सवार बा.५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको छ ।

    कञ्चनपुरको पुर्नवास नगरपालिका स्थायी घर भएका प्रहरी सहायक निरिक्षक बिक ४ वर्षअघि नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । भूमीहिन परिवारमा जन्मिएका बिकका श्रीमती, २ र ६ वर्षीया २ छोरी छन् । ५ वर्षको उमेरमा बुवा गुमाएका बिककी ५० वर्षीया आमा छन् । ३ भाइ थिए । उनी माइलो भाई हुन् ।

    यस्तै अछामको बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ५ निवासी साउद २०६७ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । २ वर्षदेखि कैलालीमै कार्यरत साउदका श्रीमती, ३ र ८ वर्षीया २ छोरी छन् । ५ जना दाजुभाई मध्ये साउद साइलो थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार