Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • भक्तपुरको स्मार्टसिटीमा गैरकानुनी कित्ताकाटः मन्त्रीलाई ४ करोड घुस


    शनिबार, पुष १४ २०८०
    4K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । जग्गा दलाल र भूमाफिया मार्फत् ठूलो आर्थिक चलखेलमा नापी कार्यालय भक्तपुरमा राम्रो काम गरिरहेका प्रमुख नापी अधिकृत रामकुमार सापकोटालाई भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रमा काजमा पठाइएको छ ।

    जग्गा कारोबारीले स्मार्ट सिटीभित्रको जग्गा कित्ताकाट गर्न रामकुमार सापकोटालाई हटाएर प्रदीपकुमार सापकोटालाई नापी कार्यालय भक्तपुरको प्रमुखमा सरुवा गराएका छन् ।

    स्मार्टसिटीभित्रको जग्गा नियम बिपरीत कित्ताकाट गर्न नमानेपछि रामप्रसाद लखेटेर प्रदीपलाई कार्यालय प्रमुखमा लगिएको मन्त्रालयका अधिकारी बताउँछन्–गैरकानूनी श्रेस्ता मिलान र हालसाविक गर्नेगरी प्रमुख नापी अधिकृत प्रदीप सापकोटालाई काजमा पठाइएको हो । उनले भूमाफियाको गैरकानूनी कार्य सम्पन्न गरिसकेको र सो बापत भूमाफियाबाट लाभ लिइसकेका छन् ।

    पत्रकार धमलालाईमार्फत सेटिङ गरी सहयोग गरी एक मारवाडी ब्यापारीले प्रदीपकुमारलाई भक्तपुरको प्रमुखमा लगेका छन् । मारवाडीको लगानीमा प्रदीपकुमारलाई भक्तपुर लगेर स्मार्टसिटीभित्रको जग्गा कित्ताकाट गराइसकिएको छ । स्मार्टसिटी घोषणा गरिएको छालिङको करिब ६५ रोपनी जग्गा कित्ताकाट गर्नका लागि भूमाफियाको समूहले पत्रकारलाई बिचौलिया बनाएर ४ करोड घुसमा मात्रै खर्च गरेको स्रोतले बताएको छ । ती पत्रकारले भूमिब्यवस्था मन्त्रीक रंजिता श्रेष्ठका पति नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसम्म सेटिङ गरेपछि रामकुमार सापकोटाले कित्ताकाट गर्न नमानेपछि प्रदीप सापकोटालाई नयाँ कार्यालय पमुखमा लगेर स्मार्टसिटीको कित्ताकाट गरिएको स्रोतले नेपालफेसलाई बताएको छ ।

    छालिङ १ देखि ५ को स्मार्टसिटीमा मापदण्ड विपरीत प्लटिङ गर्ने गरी धमलाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रदीपकुमारको सरुवा सहमति ल्याएको स्रोत बताउँछ । जबकि काठमाडौं उपत्यकाका कार्यालयमा प्रमुख हुनका लागि उपसचिव बढुवा भएको १ बर्ष पुग्नुपर्छ । प्रदीपकुमार सापकोटा उपसचिव बढुवा भएको एक बर्ष नै नपुगी सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख रामकुमार महतोलाई समेत प्रभावमा पारी मारवाडी ब्यापारीले धमला प्रयोग गरी २०८० पुस ५ गते सरुवा सहमति ल्याएका थिए । गएको असोज ९ मा प्रदीप सापकोटाको काजसरुवा भएको थियो ।

    बागेश्वरीको प्लटिङ गराउने जग्गा कारोबारीले राति ७.३० मा मन्त्रालय खोली सहमतिमा सही गराएको स्रोत बताउँछ । कार्यालय प्रमुख सापकोटाले प्रदीपकुमार सापकोटाले भक्तपुर नापीमा सरुवा हुनासाथ छालिङ १ देखि ५ को स्मार्टसिटीमा मापदण्ड विपरीत प्लटिङ गर्नका लागि कित्ताकाट गरेका छन् । जसमा करोडभन्दा बढी घुस लेनदेन भएको छ ।

    झौखेल ८ कित्ता नम्बर २२६ को जग्गाको क्षेत्रफल २ आना बढाएर दररेट तोकी घुस लिएको आरोप छ ।स्मार्टसिटीमा गैरकानुनी कित्ताकाट गर्नेदेखि आनाको ५ लाख घुस लिएर नक्सामा नभएको क्षेत्रफल बढाएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासोका साथ हेरेको छ ।

    भक्तपुर नापी कार्यालयका प्रमुख सापकोटामाथि कर्मचारीलाई फाँटको जिम्मेवारी दिंदा पनि घुस लिने गरेको आरोप छ । नापी विभागले तोकिएको सांगठन तालिका बिपरीत पैसा उठाएर फाँट दिएका छन् । ५ जना सर्वेक्षकसँग सरुवा खर्च निकालेर अरुलाई काम विहीन फाँट दिइएको छ । कार्यालयको ९० प्रतिशत काम ५ जना सर्वेक्षकलाई दिएको र १० प्रतिशत काम १९ जना सर्वेक्षकलाई दिएर विभागको संगठन तालिकालाई नै सापकोटाले धज्जी उडाएका छन् । अमिन ३ जना, सर्वेक्षक १० जना, नापी अधिकृत ३ जनाको दरबन्दी रहेकोमा २९ जना आर्थिक चलखेलमा राखिएको छ ।

    भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक बिदुर खनालले समेत प्रदीप सापकोटा उपसचिवमा बढुवा भएको १ बर्ष नपुगेको र काठमाडौंबाट काठमाडौं उपत्यकायमै सरुवा गर्न नमिल्ने बिषयमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ हुन नसकेको समाचार छ । कार्यालय प्रमुख सधैं कार्यालयमा बस्नुपर्छ । तर भक्तपुर नापीका प्रदीप सापकोटा कहिल्यै कार्यालयमा हुँदैनन्, कुनै पनि फाइलमा सही गर्दैनन् । तर आफूले संगठन तालिका बिपरीत जिम्मेवारी दिएका सर्भेक्षकहरुले कति काम गरेका छन्, कार्यालय समय सकिएपछि फाइल गनेर घुस बुझ्ने गरेका छन् ।

    भूमाफियाको प्रभावमा मालपोतका हाकिम एक सातामै चट्

    भूमिब्यवस्था मन्त्रालयले मालपोत कार्यालय कास्कीको प्रमुखमा सरुवा भएका उपसचिव चिरञ्जीवी पौडेललाई एक हप्तामै हटाएको छ । मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय बाग्लुङमा काज गरी पौडेललाई कास्की मालपोतमा सरुवा गरिएको थियो । तर त्यसको एक हप्ता बित्न नपाउँदै पोखराका भूमाफिया सुजन लामा मार्फत् लाभ लिएर नारायणथान गुठीको ५१ रोपनी जग्गा ब्यक्तिको नाममा श्रेस्ता कायम गर्नेगरी पुनः रामचन्द्र अधिकारीलाई नै मालपोत कार्यालय कास्कीको प्रमुखमा फर्काइएको छ । अधिकारीलाई नै कास्की मालपोतको प्रमुखमा फर्काउन भूमाफिया सुजन लामाले २० लाख घुस बुझाएको चर्चा भूमिब्यवस्था मन्त्रालयमा ब्याप्त छ ।

    यसरी निजामती सेवा ऐन नियमावलीको धज्जी उडाउँदै भूमि ब्यवस्था मन्त्रीका आसेपासेहरुले मोटो रकम असुली गैरकानूनी सरुवा काज गरी कर्मचारी आतंक मच्चाएको र मन्त्रालय डुङ्डुङ्ती गन्हाएको गुनासो भूमिब्यवस्थाका कर्मचारीको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार