भक्तपुर । कात्तिक ३ गते बिहान ९ बजे रोहन पराजुलीको घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल हरायो। मध्यपुर ठिमी नगरपालिका – ३, कोशलटारका पराजुलीले महानगरीय प्रहरी वृत ठिमीलाई जानकारी गराए।
सूचना पाउनासाथ महानगरीय प्रहरी वृत ठिमी र अपराध महाशाखा (पिसिसिबी) कोसंयुक्त टोली परिचालन गरी घटनास्थलमा सुक्ष्म अनुसन्धान सुरु भयो। चोरी भएको ठाउँमा अनुसन्धान गर्ने क्रममा शंकास्पद व्यक्तिले मोबाइल फोन रिचार्ज गरेको गर्दा चोरी भएको ठाउँ नजिकै शंकास्पद व्यक्ति आई फोनको रिचार्ज गरेको क्लु प्रहरीले हाल लाग्यो।
महानगरीय प्रहरी वृत ठिमीका प्रहरी नायव उपरिक्षक ऋषिराम कँडेलका अनुसार सोही समयमा नै मोटरसाइकल हराएको भन्ने यकिन भएपछि त्यही स्थानमा प्राप्त भएको रिचार्ज कार्डलाई आधार मानेर अनुसन्धान सुरु भयो।
कँडेलले भने, ‘रिचार्जकार्ड प्रयोग भएको फोन नम्बरलाई ट्रेस गर्दा गर्दै हामीलाई अर्को मोटरसाइकल चोरी भएको खबर आयो। हामीले दुई अनुसन्धानलाई समानान्तर अनुसन्धान गर्दै लग्यौ।’
त्यही दिउँसो साँढे ३ बजे मध्यपुर ठीमि नगरपालिका २ मगरगाउँ स्थित साजन न्यौपानेको घर अगाडि पार्किङ गरेर राखेको अर्को पल्सर मोटरसाइकल पनि हराएको थियो। प्रहरीले अनुसन्धान गर्ने क्रममा मध्यपुर ठिमी नगरपालिका – ८ बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्टको अगाडि सडकमा पछिल्लो पल्ट हराएको मोटरसाइकलसँग मिल्ने मोटरसाइकल फरक नम्बर प्लेटमा फेला पार्यो।
कँडेलका अनुसार प्रहरीले शंकास्पद व्यक्तिको निगरानी गरिरहेको थियो। शादा पोशाकमा गएको प्रहरीको टोलीले साढे ४ बजेतीर अर्को पल्सर मोटरसाइकल सहित रामेछाप ठोसेका १८ वर्षे अरुण तामाङलाई पक्राउ गर्यो।
तामाङ पक्राउ परेपछि सिन्धुपाल्चोक पाँच पोखरी थाङपाल नगरपालिका घर भई हाल काठमाडौँ बस्ने २९ वर्षका मनोज लामा पनि पक्राउ परे। उनलाई मुलपानीबाट निलो पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको थियो। उनीसँग लिएको बयानपछि प्रहरीले मध्यपुर ठिमी कमेराटारबाट अर्को पल्सर मोटरसाइकल बरामद गर्यो ।
अनुसन्धानका क्रममा दोलखा घर भई हाल मध्यपुर ठिमी नगरपालिका बस्ने २९ वर्षका मनोज तामाङ पनि पक्राउ परेका छन्।
कँडेलका अनुसार यसमा अन्य व्यक्तिहरु संलग्न भए नभएको बारेमा अनुसन्धान भइरहेको छ। उजुरी परेका दुई मोटरसाइकल धनीले लगिसकेका छन् भने दुई मोटरसाइकलको धनी अहिलेसम्म खुल्न सकेको छैनन्।