भक्तपुर । प्रहरीको एउटा अपरेशनले मोटरसाइकल चोरको गिरोह समातेको छ । महानगरीय प्रहरी वृत ठिमी र अपराध महाशाखाको टोलीले सो गिरोह पक्राउ गरेको हो ।
कात्तिक ३ गते बिहान ९ बजे रोहन पराजुलीको घर अगाडिबाट मोटरसाइकल हराएपछि प्रहरीले अपरेशन सुरु गरेको थियो । चोरी भएको ठाउँमा अनुसन्धान गर्ने क्रममा शंकास्पद व्यक्तिले मोबाइल फोन रिचार्ज गरेको गर्दा चोरी भएको ठाउँ नजिकै शंकास्पद व्यक्ति आई फोनको रिचार्ज गरेको क्लु प्रहरीले हाल लाग्यो।
रिचार्ज भएको नम्बरलाई ट्रेस गर्दा चोरलाई समात्न सकेको प्रहरीले जनाएको छ ।
यस्तै मध्यपुर ठीमि नगरपालिका २ मगरगाउँबाट अर्को पल्सर मोटरसाइकल पनि हराएको थियो। प्रहरीले अनुसन्धान गर्ने क्रममा मध्यपुर ठिमी नगरपालिका – ८ बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्टको अगाडि सडकमा पछिल्लो पल्ट हराएको मोटरसाइकलसँग मिल्ने मोटरसाइकल फरक नम्बर प्लेटमा फेला पार्यो।
प्रहरीले शंकास्पद व्यक्तिको निगरानी गरिरहेको थियो। सादा पोशाकमा गएको प्रहरीको टोलीले साढे ४ बजेतिर अर्को पल्सर मोटरसाइकल सहित रामेछाप ठोसेका १८ वर्षे अरुण तामाङलाई पक्राउ गर्यो।
तामाङ पक्राउ परेपछि सिन्धुपाल्चोक पाँच पोखरी थाङपाल नगरपालिका घर भई हाल काठमाडौँ बस्ने २९ वर्षका मनोज लामा पनि पक्राउ परे। उनलाई मुलपानीबाट निलो पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको थियो। उनीसँग लिएको बयानपछि प्रहरीले मध्यपुर ठिमी कमेराटारबाट अर्को पल्सर मोटरसाइकल बरामद गर्यो ।
अनुसन्धानका क्रममा दोलखा घर भई हाल मध्यपुर ठिमी नगरपालिका बस्ने २९ वर्षका मनोज तामाङ पनि पक्राउ परेका छन्।