घोराही । कोरोना भाइरसको संक्रमणबाट दाङमा एक जना ४३ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ।
होम आइसोलेसनमा बसेका दाङको लमही नगरपालिका–५ लमही बजारका ४३ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। उनको उपचार हुन नपाउँदै घरमा मृत्यु भएको परिवारजनले बताएका छन्।
उनी जन्डिसबाट पीडित थिए। एक साता अघि मात्रै काठमाडौंमा उपचार गराएर घर फर्किएका थिए।
घर पुगेर कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो। त्यसयता उनी होम आइसोलेसनमा बस्दै आएका थिए।
होम आइसोलेसनमा बसेका वेलामा आज बिहान उनको मृत्यु भएको वडाध्यक्ष बिमबहादुर केसीले बताए। उपचार गरेर घर फर्केकाले कोरोना देखिएपछि अस्पताल नगएर होम आइसोलेसनमा बसेका थिए।