Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमानले किन दिएनन् बढुवा भएका ५८ हाकिमलाई जिम्मेवारी ?


    मंगलबार, कार्तिक ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्र्राधिकरणले २०७७ असारमा बढुवा भएका आठौं, नवौं र दसौं तहका ५८ कर्मचारीलाई अहिलेसम्म पनि पदस्थापन गरेको छैन । विनियमावली अनुसार बढुवा भएका कर्मचारीलाई उसको दरबन्दी अनुसारको पदमा पदस्थापन गर्नुपर्छ । तर प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उनीहरुलाई बढुवा भएको पदमा पदस्थापन नै नगरी अन्यायपूर्वक तल्लो पदमै काम गर्न बाध्य पारे । उनको कार्यकाल भदौ २९ मा सकिएपछि अर्को कार्यकारी निर्देशक नियुक्ति नभएकाले ५८ उच्चतहका ती कर्मचारीको पदस्थापन हुन सकेको छैन । कुलमानको कार्यकालमा आन्तरिक रुपमा कर्मचारीमाथि कसरी विभेद गरिएको रहेछ भन्ने दृष्टान्त ३ महिनासम्म पदस्थापन नगरी तनाव दिएर राखेको घटनाले पुष्टि गरेको छ ।

    कुलमानले प्राधिकरणमा आफ्ना अन्ध समर्थक र सामाजिक संजालमा स्तुतिगान गाउने कर्मचारीलाई काखा र नगर्नेहरुलाई पाखा गरेका थिए । बढुवा भएका ५८ उच्च तहका कर्मचारीले आफ्नो पक्षमा स्तुतिगान नगरेकै कारण उनीहरुलाई बढुवा भएको ३ महिनासम्म पनि उनले जिम्मेवारी नदिई राखे ।

    असारमा बढुवा भएर पदस्थापन नगरिएका आठौं तहका १६ जना, नवौं तहका २२ जना र १० औं तहका २० जना छन् । आठौं तहमा बढुवा भएका इलेक्ट्रिकल समूहका ५ जना, सिभिलका ३, जीओलोजीका १, प्रशासनका ३, लेखाका ३ र इकोनोमिक्सका १ छन् ।

    त्यसैगरी नवौं तहमा बढुवा भएका इलेक्ट्रिकल समूहका ८ जना, सिभिलका ३, मेकानिकलका ३, सर्भेका १, इन्भारोमेन्टका ३, प्रशासनका ३ र लेखाका १ जना छन् ।

    त्यसैगरी, दसौं तहका इलेक्ट्रिकलका ११, सिभिलका ५, मेकानिकलका २, कम्प्युटरका १ र लेखाका १ छन् । यी उच्च तहका कर्मचारीलाई बढुवा भएको पदको तलवभत्ता दिइएको छ । तर जिम्मेवारी भने तल्लो तहमै छ । दरबन्दी अनुसारको पदमा पदस्थापन नगरी राखिएको छ ।

    त्यसैगरी, कुलमान घिसिङले आफ्नो कार्यकाल सकिनुभन्दा १ दिनअघि प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीलाई अन्यत्रै सरुवा गरेर गएका छन् । अधिकारी कुलमानको कार्यकालभर प्राधिकरणका प्रवक्ता थिए । उनी कुलमानका दायाँ हात जस्तै भएर काम गर्दैआएका थिए । सोमबारको साँघु साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार