काठमाडौं । गत चैत २४ गते एकनारायण अर्यालले काठमाडौं महानगरपालिकाको प्रमुख प्रकासकीय अधिकृतका रुपमा पद बहाली गर्दा मुलुक कारोना कहरका कारण लकडाउनमा थियो । फागुन १८ गते बसेको मन्त्रीपरिषद् बैठकले उहाँलाई सचिबमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।
महानगरपालिकामा जनप्रतिनिधि बहाल भएपछिको पाँचौ प्रमुख प्रशासकीय अधिकृतकारुपमा बहाल भएसँगै कोरोना कहरमा पनि निकै राम्रा प्रयासको थालनी गर्नुभएका अर्यालले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदवहाली गर्नुभएको छ । महानगरपालिकामा सरुवा हुनु अघि नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूतका रुपमा रहनु भएका अर्याललाई निजामती सेवामा इमान्दार र निर्णय क्षमता भएका प्रशासकका रुपमा हेर्ने गरिन्छ ।
सरकारी जागिरे जिवनको लामो समय गृह प्रशासनमा बिताउनु भएका अर्यालले काठमाडौं महानगरपालिकामा छोटो समय रहँदा पनि कर्मचारीको अनावश्यक भत्ता, सुविधा र खर्च कटौती गर्ने कार्य गरेर राज्य कोषको लाखौं रकम बचाउने प्रयासको थालनी गर्नुभएको थियो ।
निडर र हक्की स्वाभावका अर्यालले काठमाडौं महानगरपालिकामा जिम्मेवारी सम्हालेपछि कामचोर कर्मचारीलाई काबुमा राख्ने र कामको मुल्यांकन गर्ने प्रयासको थालनी गरेको जस पनि अर्याललाई जान्छ ।
जिम्मेवारी सम्हालेर पुगेको ठाउँमा केही न केही सुधार र सकारात्मक परिवर्तनको सन्देश दिने अर्यालले काठमाडौं महानगपालिकामा पनि जिम्मेवारी सम्हालेपछि अनलाइनबाट राजस्व संकलन, घरको नक्साको डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता महत्त्वपूर्ण कामको थालनी गरेर सुधारको संकेत गर्नुभएको जस जान्छ । काठमाडौं महानगपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य कोराना संक्रमणका कारण लामो समय अनुपस्थित रहँदा समेत कुशल ढंगले दैनन्दित कार्यलाई अघि बढाउनु भएका अर्यालले प्रमुख शाक्यको समेत मन सजिलै जित्नुभएको थियो । उहाँको नेतृत्वदायि कार्य क्षमतावाट प्रभावित शाक्यले अर्याल सरुवा हुँदा आफुले नरमाइलो महशुस गरेको उहाँकै उपस्थितिमा आयोजित एक कार्यक्रममा सार्वजनिक नै गर्नुभएको थियो ।
त्यसो त अर्यालले छोटो कार्यकालमै काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माणको प्रक्रिया पनि अन्तिम चरणमा पुर्याउनु भएको थियो ।
भाबी गृहसचिव र मुख्यसचिवका रुपमा हेरिएका अर्याल २०७२ सालको भुकम्पका बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । भूकम्पका बेला कालोबजारी गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारेर लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि दबाबका बाबजुद मुद्दा चलाउन सफल हुनुभएको थियो ।
कालोबजारीमा संलग्न उच्च अनियमितता नगर्ने, घूस र ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमताका अर्यालले उक्त मन्त्रालयमा पनि उदाहरणीय काम गर्ने अपेक्षा गरिएको छ । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गर्नुभएको अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा हुनुभएको हो ।