काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् ।
‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ’, उनले भने, ‘संघीय मन्त्रीपरिषद्को निर्णयको मर्म अनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय भएको छ ।’
यसअघि कोरोना महामारीका बीच सांसदहरुले दसैँ भत्ता लिएको समाचार बाहिरिएपछि नेकपा र काँग्रेसले सांसदहरुले पाएको सो वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । यस्तै पार्टी निर्णयअघि नै केही सांसदहरुले स्वतस्फूर्त रुपमा रकम फिर्ताको घोषणा समेत गरेका थिए । उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे ।