काठमाडौँ । अपहरण र ज्यान मार्ने उद्योग मुद्दामा १७ बर्ष कैद संजायको आदेश भएका फरार नरेश मेचेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले पक्राउ गरेको छ ।
झापाको साविक धाईजन गा.वि.स. वडा नं ३ हाल मेचीनगर नगरपालिका वडा नं १२ मा बस्ने मेचे र बजरंग पन्सारी अग्रवालले २०७१ माघ ८ गते विर्तामोड नगरपालिकाका सुनिलकुमार अग्रवाललाई हतियार देखाई डरत्रासमा पारी अपहरण गरेर एम्बुलेन्समा झापाको धरमपुरमा रहेको हर्कबहादुर कन्दको घरमा लगी बन्धक बनाइराखेको अवस्थामा २०७१ माघ २३ मा प्रहरीले मुक्त गरेको थियो ।
सो क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा १ जना प्रहरी कर्मचारी समेत घाइते हुन गएकोले मेचेमाथि संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाइ फरारले हुनाले विशेष सूचनाको आधारमा प्रकाउ गरिएको सीआइबीले जनाएको छ ।
मेचेको हकमा सम्मानित झापा जिल्ला २०७३ असार २१ गतेको आदेशले १७ वर्ष कैद र एक लाख पचास हजार जरिवाना फैसला भई हालसम्म फरार रहेका थिए । सीआइबीले उनलाई काठमाडौं वडा नं २९ स्थित नयाँ बसपार्क, गोंगबुबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको जनाएको छ ।