Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्दिरमै ‘खिइयो’ २ किलो सुन


    सोमबार, कार्तिक ३ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ। अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो। अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो।

    पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्येश्वरीका पुजारीलाई पत्राचार गरेको थियो। तर, लामो समय त्यसलाई गुपचुप राखियो। कोषका पदाधिकारीलाई घटस्थापनाका दिन बर्सेनि गरिने पर्वपूजामा यसपटक पुजारीले रोके। त्यससँगै सुन हराएको प्रसंग पुनः खोतलिएको हो। 

    कोषले २०७५ भदौ ६ गते पुजारीलाई लेखेको पत्रअनुसार अष्टदलमा दुई सय ९४ तोला मात्रै पाइएको छ। भैरवको मूर्तिमा सुनको परिमाण दुई सय ४५.५ तोलामा झरेको छ। ८५.७३ तोलाको एक किलो हुन्छ। यस हिसाबले दुई किलोभन्दा बढी सुन हराएको देखिन्छ।

    बजारमा सुनको भाउ प्रतितोला ९४ हजार ४ सय रुपैयाँ छ। अहिलेको मूल्यमा हराएको सुनलाई करिब एक करोड ६४ लाख रुपैयाँ पर्छ।  गुठी संस्थानअन्तर्गत पुजारी र रैरकमी गुहेश्वरीमा काम गर्दै आएका छन्। कोषमातहतको पाशुपत क्षेत्रस्थित मन्दिरका दुवै मूर्तिमा २०७५ साल साउनमा २ करोड ११ लाखभन्दा बढी रकम कोषले खर्चिएको थियो। दुवै मूर्ति मर्मतसम्भार गरी सुनको मोलम्बा (तामा वा चाँदीको मूर्तिमा सुनको लेपन) लगाउने कार्य २०५७ सालमा सम्पन्न भएको थियो।

    कोषका तत्कालीन कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले सुन घट्नुको सत्यतथ्य खुलाई जवाफ दिन पुजारी सुमन कर्माचार्यलाई पत्र पठाएको कागजातले देखाउँछ। पाँच पुजारी, नौ द्यःपाला खड्गी र नौ द्यःपाला ज्यापूले आआफ्नो हस्ताक्षरसहितको स्पष्टीकरण मंसिर २१ गते कोषलाई पठाएका थिए। उनीहरूले ‘लामो समय मर्मत नहुँदा सुरुमा प्वाल परेको र क्रमशः पाता खिइँदै गएको’ जवाफ दिएका थिए। यो समाचार आजको अन्नपूर्णपोष्टमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार