Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हुण्डी र सुनकाण्डमा विवादित परिसरका डिएसपी हेडक्वाटर तानिए


    आइतबार, कार्तिक २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । दरबारमार्गको सुनको जलप लगाएको १४ किलो चाँदी बरामद प्रकरणदेखि नै विवादमा परेका काठमाडौं प्रहरी परिसरका डीएसपी देवी पौडेललाई प्रहरी प्रधान कार्यालयले तानेको छ । उक्त केसमा सुन पसलेदेखि धेरैसँग डीएसपी पौडेलले तर्साउँदै असुली गरेको आरोप छ ।

    पौडेललाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । १४ किलो सुनको जलप लगाइएको चाँदी तस्करीमा पक्राउ परेका भारतीय नागरिक निलेश सखिया, संजीव पटेल र इल्ताफ अन्सारीको कनेक्सन हुन्डी कारोबारी विकास अग्रवालसँग भएको खुल्यो । तर डीएसपी पौडेल र एसएसपी श्याम ज्ञवालीले अग्रवाललाई पक्राउ नगरी भगाउने काम गरेको आरोप लाग्दैआएको छ । किनकि चाँदी तस्करी गर्ने भारतीय नागरिक सखिया र पटेलले हुन्डीको रकम विकास अग्रवाललाई पठाउने र नेपालमा सुनको जलप लगाएको चाँदीको बिस्कुट बनाउँदै भारतमा तस्करी गर्ने गरेका थिए ।

    भारतको गुजरातमा सुनको बिस्कुट घरमा सजाउने चलन भएकाले सखिया र पटेलले चाँदीमा सुनको जलप लगाएर तस्करी गर्ने गरेका थिए । त्यसका लागि हुन्डीबाट विकास अग्रवालको नाममै रकम पठाउने गरेका थिए । २०७७ असार ७ मा विकास अग्रवालले ४० लाख नै समृद्ध सहकारीबाट निकालेको तर उनले १७ लाख मात्र भएको उजुरी दिएका थिए । १० लाख लुटपाट प्रकरणमा डीएसपी पौडेलले तल्लो दर्जाका प्रहरीसहित निर्दोष सहकारीकी एक कर्मचारी र एक युवालाई फसाएर हुन्डीका खुँखार कारोबारीलाई उन्मुक्ति दिएका थिए । अझ हुन्डीका कारोबारीलाई नै जाहेरवाला बनाएका थिए ।

    हुन्डी कारोबारी विकास अग्रवालले न्यूरोडको समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ असार ७ गते ४० लाख रुपैयाँ निकालेकोमा घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले १० लाख लुटपाट गरेको उजुरी दिएका थिए ।

    सहकारीबाट पैसा निकालेर लाने क्रममा हुन्डी कारोबारी विकास अग्रवालको १० लाख रकम घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले लुटेको आरोपमा प्रहरीले उनीहरुबिरुद्ध जिल्ला अदालतमा डकैती मुद्दा दायर गरी उनीहरु पुर्पक्षमा गएका छन् ।

    भारतीय नागरिक निलेश सखिया र संजीव पटेलले विकास अग्रवाललाई हुन्डीमार्फत् ७ करोड पठाएको खुलेपछि  अग्रवाल फरार भएका थिए । उनलाई प्रहरीले नै सूचना दिएर भगाएको आशंका गरिएको छ ।  नेपालमा सुनको जलप लगाएर चाँदीको बिस्कुटको कारोबार गर्नेहरुसँग विकास अग्रवालको कनेक्सन देखिएपछि प्रहरीले उनलाई पक्राउ नगरी भगाउने काम गरेको आरोप छ ।

     हुन्डी कारोबारी अग्रवालको छानबिनका लागि राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएन । उल्टै तिनै हुन्डी कारोबारीलाई निवेदक बनाई प्रहरी र सूचना दिने २२ बर्षीय सौरभ अधिकारी र रेणु श्रेष्ठलाई डकैती मुद्दा चलाइएको छ ।

    विकास अग्रवाल जस्ता हुन्डी कारोबारमा लामो समयदेखि संलग्नलाई जोगाउने र प्रहरीदेखि सूचना दिनेलाई फसाउने कार्यमा जनसेवा प्रहरी बृत्तका प्रहरी सहायक निरीक्षक(असई) सूर्य केसी, डीएसपी सुनिलजंग शाह र काठमाडौं परिसरका डीएसपी देवी पौडेल लागेको आरोप छ । । उनीहरुको बारेमा प्रहरी प्रधान कार्यालयले यसबारेमा छानबिन गरिरहेको बताएको थियो ।

    डीएसपी पौडेल तानिएका छन् । अब सई केसी र डीएसपी शाहको बारेमा पनि प्रधान कार्यालयले छानबिन गर्नुपर्ने प्रहरी स्रोत बताउँछ । सुनदेखि लेनदेनमा मुछिएका डीएसपी पौडेलले एसएसपी ज्ञवालीकै आडभरोसामा चलखेल गर्दैआएका थिए । तर पौडेललाई तानेर ज्ञवालीलाई भने चोख्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार