सशस्त्र प्रहरीले बरामद गरेको सुन, सुनसहित बरामद गाडी र चालक साह
जनकपुरधाम । काठमाडौंबाट अबैध रुपमा चोरी पैठारी गरी भारततिर लाँदै गरेको २ सय ग्राम सुन जनकपुरको भ्रमरपुरा चोकबाट प्रहरीले बरामद गरेको छ । बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले गाडीसहित सुन बरामद गरी जनकपुर भन्सार कार्यालयमा बुझाएको छ ।
बरामद भएको २ सय ग्राम सुनको बजार मूल्य १६ लाख २३ हजार ८ सय रहेको छ । त्यस्तै सुन ओसार्न प्रयोग गरेको बा १० च ३५६८ नम्बरको इको भ्यान समेत पक्राउ गरेको हो । सुनसहित गाडीको अन्दाजी मूल्य करिब ३१ लाख २३ हजार ८ सय रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ । सुन बरामद भएपछि बोझ बाहक गाडी समेत बरामद हुन्छ ।

सशस्त्र प्रहरी निरीक्षक शम्भु कटवाल
आइतबार दिउँसो १ः४५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल, धनुषा ८ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक शम्भु कटवालको कमाण्डमा खटिएको टोलीले उक्त सुन र गाडी बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सुनसहित गाडी चालक महोत्तरी जिल्ला बलवा नगरपालिका वडा नम्बर ४ का ३४ बर्षीय रामचन्ंद्र साह पनि पक्राउ परेका छन् । उक्त सुन चालक साहको नै भएको बताइएको छ ।
केही दिनअघि मात्रै बिदेह नगरपालिकाको ठाढीबाट बोर्डर आउट पोष्ट महिनाथपुरका प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा गएको टोलीले बिशेष सूचनाको आधारमा १५ किलो गाँजा र आधा किलो चाँदी बरामद गरी भन्सार कार्यालय जनकपुरमा बुझाएको थियो ।