Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विमानस्थल भन्सारको सेटिङबिना कसरी भित्रियो १४ किलो सुन ?


    शुक्रबार, मंसिर २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । फ्लाइ दुबईको एफजेड ५७३ को उडानमार्फत बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका गोरखाका मीनबहादुर घलेको साथबाट ठूलो परिमाणको सुन बरामद भएको थियो। उनले उक्त सुन छाती र जुत्तामा लुकाएर ल्याएका थिए।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उनको साथबाट १४ किलो सुनसहित सुनको मालिकलाई पनि पक्राउ गरेको हो ।

    विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार घलेले दुबईबाट सुन ल्याउँदै छन् भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो ।

    घलेलाई पक्राउ परेपछि उक्त सुनका मालिक मीनबहादुर घले रहेको बयानका आधारमा मीनबहादुरलाई समेत पक्राउ गरिएको हो ।

    उनीहरूमाथि भन्सार कार्यालयले थप अनुसन्धान जारी राखेको विमानस्थल प्रहरीका एसपी पदम विष्टले जानकारी दिए ।

    भन्सार कार्यालयले सुनसहित पक्राउ परेका घलेको भिडियो समेत सार्वजनिक गरेको छ । भिडियोमा घलेले सुन कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको देखिन्छ । त्योबाहेक जुत्ताभित्र समेत सुन लुकाएर ल्याएको देखिएको छ । उक्त सुन ल्याएका व्यक्तिमाथि भन्सार कार्यालयको स्क्यान मेसिनमा जाँच गर्दा उक्त सुन देखिएपछि बरामद गरेको देखिन्छ ।

    भिडियोमा देखिएका घलेले कसरी त्यति ठूलो परिमाणको सुन शरीरमा लुकाएर ल्याए भन्ने प्रश्न उठेको छ । विमानस्थल प्रहरी स्रोतले समेत १४ किलो सुन त्यसरी ल्याउने प्रयास गर्नुलाई आश्चर्य मानेको छ ।

    स्रोतले भन्यो, “विमानस्थलबाट विभिन्न तरिकाले सुन तस्करी भइरहेको छ । यसलाई शून्यमा झार्न हामी लागिरहेका छौँ । तर आज १४ किलो सुन आफैँले बोकेर आउनु भनेको हाम्रो सुरक्षा प्रणालीलाइ सजिलै पार गर्छु भन्ने आँटले नै हो । अथवा अन्य केही कारण छ हामी नै आश्चर्यमा छौँ ।”

    प्रहरी स्रोत विमानस्थल भन्सारको सेटिङबिना यो सम्भव नै नभएको दाबी गर्छ । “भन्सारको सेटिङबिना सम्भव देखिँदैन,” प्रहरी स्रोतले भन्यो ।

    नेपाल प्रहरीका पूर्वडीआईजी पूर्णचन्द्र जोशी समेत १४ किलो सुन त्यसरी बोकेर आउनु नै शंकास्पद भएको बताउँछन् । “तस्करले विभिन्न माध्यम प्रयोग गरेर सुन तस्करी गर्छन् । तर, हिजोको घटना अलि फरक छ । समयमा कसैको केही इन्ट्रेस्ट हुन पनि सक्छ । पक्राउ परेकाको ट्राभल डकुमेन्टबाट यो खुल्न सक्छ,” उनले भने ।

    विमानस्थल प्रहरी स्रोतका अनुसार उनी पछिल्लो समय १८ मंसिरमा मात्रै दुबई गएको खुलेको छ ।

    उनी तीन दिन मै १४ किलो सुन ल्याएर फर्किंदा पक्राउ परेका हुन् । त्यो बाहेक उनी यसअघि समेत पटक–पटक दुबई काठमाडौं आउने जाने गरेको खुलेको छ ।

    गएको भदौमा चिनिया तस्कर समूहले भने विभिन्न सवारी साधनको ब्रेक सु भित्र लुकाएर ६० किलो सुन तस्करी गरेको खुलेको थियो ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार