काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दशैंमा मठमन्दिर तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको छ। मन्त्रालयले बिहीबार देशका सबै जिल्लालाई परिपत्र गरी निर्देशन दिएको प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाले बताए।
मन्त्रिपरिषद्ले पनि खोल्न दिने निर्णय नगरेको र स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरे अनुसार मठमन्दिर तथा शक्तिपीठहरू खोल्न नदिन निर्देशन दिएको उनले बताए।
‘नित्यपूजाबाहेक अरू खोल्न नदिन भनिएको छ। त्यसबाहेक अरू पूजाको लागि खोल्दा भीडभाड हुने र कोरोनाको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले पनि बन्द गराउन आग्रह गरेको छ,’प्रवक्ता बुढाले भने,’भयावह अवस्था आएको र यसले थप संक्रमण फैलाउन सक्ने हुँदा हामीले पनि परिपत्र गरेका हौं।’
यसअघि काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुलाउने तयारी गरिएको थियो।
दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरू बताएका थिए।
मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले पनि दसैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताएका थिए।