काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेमा एलपीजी ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन् । सोह्रखुट्टेकाे फलफूल चोकमा रहेको एक घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर विस्फाेट भएकाे महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएकाे छ।
स्थानीय निरकुमारी क्षत्रीको चारतले घरमा ग्यास सिलिन्डर लिक भई विस्फोट हुँदा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए । उनका अनुसार घाइतेहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको छ।
ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ ।विस्फोटबाट घरका झ्यालढोकामा रहेका सिसाहरु फुटेका छन् भने नजिकमा रहेका अन्य घरमा पनि सामान्य क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।