काठामडौं । सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई उपयोग मात्र गरेका छैनन, बदनामसमेत गराएका छन् ।
बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ ।
डेढ वर्षअघि विशेष अदालतले दोषी ठहऱ्याएर तीन करोडभन्दा बढी रूपैयाँ जरिवाना तोकेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार केही दिनअघि एमालेमा प्रवेश गरे । यही मंसिर ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि यसअघि ओलीको आशीर्वादमा एमालेमा प्रवेश गरेका थिए । अहिले तिनै प्रसाईं एमाले छाडेर नेताहरूमाथि गालीगलौजमा उत्रेका छन् । २०७८ कात्तिक ७ गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रसाईंलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए। त्यसअघि प्रसाईं माओवादी केन्द्रनिकट मानिन्थे । एमाले सत्तामा पुगेपछि उनी हजुरबा साइनो लगाएर ओलीसँग नजिकिएका थिए। औपचारिक रूपमा एमालेमा प्रवेश नगर्दै प्रसाईं केन्द्रीय सदस्यको रूपमा २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा पनि सहभागी भएका थिए । एमाले प्रवेश कार्यक्रममा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका थिए। अहिले उनी राजसंस्था फर्काउनुपर्ने नारा लगाउँदै सडक आन्दोलनमा छन्।
अर्का विवादित लक्ष्मी महतो पनि जनता समाजवादी पार्टी छाडेर २०७९ असोज २३ गते एमाले प्रवेश गरे । सोही साल मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेले महतोलाई महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनायो । उनले चुनाव पनि जिते । फरार भनिएका उनलाई प्रहरीले पक्राउ गरेको छैन । उनी अहिले भारतमा छन् ।
त्यस्तै कुनै बेलाका चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार मानिएका उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले २०७४ मंसिर ४ गते फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका थिए । गिरीको गुन्डागर्दीको विरोधमा एमालेले बेलाबखत संसद्समेत तताउने गरेको थियो ।
एमाले नेताहरूले गिरीलाई कारबाही गर्न पटक–पटक माग गरेका थिए । तर पछि तिनै गिरीलाई ओलीले पार्टीमा भिœयाए । भारतीय गुन्डा पप्पु भूमिहारको समूह परिचालन गरी अग्रवाललाई अपहरण गरी फिरौती लिएको, एमालेका नेता–कार्यकर्तामाथि आक्रमण गरेको आरोपसमेत उनीमाथि थियो। उनको प्रवेशलाई लिएर एमाले नेतृत्वको आलोचना भएको थियो। अहिले गिरी गुमनाम छन्।
हिन्दु युवा संघको केन्द्रीय अध्यक्ष रहेका ४५ वर्षीय काशी तिवारीको २०६७ जेठ २९ गते वीरगन्जमा गोली हानेर हत्या गरियो। तत्कालीन माओवादी नेता प्रभु शाह, जलिम मियाँलगायतको योजनामा तिवारीको हत्या भएको अभिव्यक्ति त्यसबेलाका प्रहरी अधिकारीहरूले सार्वजनिक रूपमै दिएका थिए।
पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्षसमेत रहेका मियाँमाथि कान्छा छोराकी सालीको हत्यामा संलग्न रहेको आरोपसमेत थियो। तिवारी हत्या प्रकरणमा मुछिएका साह र मियाँ पछि एमाले प्रवेश गरे। पर्सा र रौतहट एमाले वृत्तमा त्यसको विरोध भयो। अन्ततः पार्टीको निर्णय भन्दै कार्यकर्ताले ती विवादित पात्रलाई स्वीकार गरे।
त्यसैगरी तिवारी हत्यामा मुछिएका साहलाई जोगाउन ८ लाख रूपैयाँ घुस दिने पूर्वसहसचिव नागेन्द्र झा एमाले प्रवेश गरे। झालाई एमाले अध्यक्ष ओलीले २०७९ वैशाख ३ गते सर्लाही पुगेर पार्टीमा भित्र्याएका हुन्। झाले २०६८ असोज २६ गते तिवारीकी पत्नी बबितालाई ८ लाख रूपैयाँ दिई साहको नाम नलिन प्रलोभन दिएका थिए। त्यसको अडियोसमेत सार्वजनिक भएको थियो।
बदनाम पात्रलाई पार्टीमा ल्याउँदा पदाधिकारी असन्तुष्ट छन् । तर उनीहरू खुलेर बोल्न सकेका छैनन् । यो समाचार नागरिक दैनिकमा छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend