माधव पौडेल
इजरायलविरुद्ध प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको हमलामा १० नेपालीको हत्या भएपछि नेपाल सरकारले त्यसलाई आतकंवादी आक्रमण भन्दै निन्दा गरेको छ ।
नेपालमात्र होइन, विश्वका(इरान, कतार र पाकिस्तान बाहेक) सबै राष्ट्रले हमासको हमलालाई आतंकवादी आक्रमण भन्दै निन्दा र भत्र्सना गरेका छन् । तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने ती १० नेपालीको नृशंस हत्या गर्ने प्यालेष्टाइनकै पक्षमा शुक्रबार इजरायली दूताबासअगाडि श्रीमती हिसिला यमीसहित १५–२० जनाको समूहसहित प्रदर्शन गरेका छन् ।
प्यालेष्टाइनसँग ७५ बर्ष पुरानो र गहिरो मित्रता रहेको भारतले समेत इजरायललाई आश्चर्यजनक रुपमा साथ दिइरहेको छ । इजरायल स्वतन्त्र हुँदा भारतभन्दा पहिला नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले स्वतन्त्र राष्ट्रको रुपमा स्वीकार गरेका थिए । वीपी कोइरालाले लगाएको गुनको बीउबाट आज हजारौं नेपाली इजरायलमा सम्मानजनक रोजगारीमा छन् । उच्चतम आय गरिरहेका छन् । तर नेपालकै पूर्व प्रधानमन्त्री डा. भट्टराई सपत्नी एक दर्जन मुस्लिम कार्यकर्ता लिएर इजरायल दूताबासमा प्रदर्शनका नाममा फोटो सेसन गरेको सामाजिक संजालमा पोष्ट गरेका छन् ।
नेपाल सरकारले १० नेपाली नागरिकको क्रुरहत्या गर्ने कार्यलाई आतंककारी आक्रमण भनिसकेको अवस्थामा नेपालका पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्यालेष्टाइनको समर्थनमा दूताबास अगाडि प्रदर्शन गर्दा ती मृतक नेपालीका परिवार र आफन्तलाई कस्तो महसुस भएको होला ? डा.भट्टराईले ती आफन्त गुमाएका र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्ने र बर्बर हत्याको बिरोध गर्नुपर्नेमा उल्टै प्यालेष्टाइन आतंककारी समूह हमासको पक्षमा प्रदर्शन गरेर उनीहरुको घाउमा नूनचूक दल्ने काम गरेका छन् ।
डा. बाबुरामले हमासको आतंककारी आक्रमणबाट ज्यान गुमाएका १० नेपाली नागरिक र तिनका शोकसन्तप्त परिवारजनले के सोच्लान् भन्ने समेत ख्याल राख्न नसकेको देखियो । डा. भट्टराईले प्यालेष्टाइनको समर्थन र इजरायलको बिरोध गर्नुअघि कृषि फर्ममा काम गर्न गएका र नृशंस हत्या गरिएका ती निर्दोष १० नेपालीको के दोष थियो भन्ने हेक्का समेत राख्न सकेको देखिएन ? धेरै नेपाली विद्यार्थी रोजगारी र अध्ययनको सिलसिलामा इजरायलमा पुगेका छन् ।
इजरायलको गाँजापट्टि सिमानामा पर्ने किजुल अलुमिनमाको कृषि फार्ममा १६ नेपाली कार्यरत थिए । ७ अक्टुबरका दिन उक्त कृषि फार्ममा कार्यरत नेपालीलाई प्यालेष्टाइनी बिद्रोही समूह हमासले कब्जामा लिएका थिए । नेपालीहरुले हमासका कार्यकर्ताहरुसामु ‘हामी नेपाली हौं, यहुदी होइनौं, हाम्रो लडाइँ कुनै कसैसँग नभएको, रोजगारीका लागिमात्र आएको’ भन्दै प्राणरक्षाका लागि याचना गरे । तर आतंककारी गतिबिधिमा संलग्न हमासका कार्यकर्ताहरुले दया देखाएनन् ।
घटनास्थलमा १५ नेपालीलाई हमासका कार्यकर्ताले गोली प्रहार गर्दा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक नेपालीलाई हमासले बन्धक बनाई लिएर गए । गोली लागेर पनि मृत्यु हुनबाट जोगिएका ४ जनामध्ये २ जना उपचार गरी नेपाल फर्किसकेका छन् । २ जना अझै इजरायलका अस्पतालमा उपचाररत छन् । बन्धक बनाई लगेका कन्चनपुर, महेन्द्रनगरका विपिन जोशीको हालसम्म कुनै खोजखबर छैन ।
इजरायली दूताबासमा प्रदर्शन गरेर नेपालका मन्त्री र प्रधानमन्त्री भइसकेका डा. भट्टराई दम्पत्तिले नेपाल र नेपालीको संवेदनशीलतासँग खेलवाड गरेको महसुस इजरायलमा आतंकवादी समूह हमासद्वारा नृशंसतापूर्वक मारिएका, अपहरणमा परेका र गोली लागेर घाइते भएका नेपालीका परिवारले गरेका छन् ।
इजरायलमा रहेका नेपालीको चिन्ता
इजरायलका विभिन्न सहरमा करिब २० हजार नेपाली भएको अनुमान छ । इजरायलमा नेपाली केयरगिभर, कृषि मजदुर र पर्यटन क्षेत्रमा कार्यरत छन् । हालसालै इजरायल गएका नेपाली प्यालेष्टाइनी बिद्रोही समूह हमासको आतंककारी आक्रमणबाट भयभीत भई नेपाल फर्के पनि अधिकांश नेपाली इजरायलमै रहेका छन् । इजरायल सरकारले नेपालीहरुको सुरक्षामा कुनै प्रकारको भेदभाव गरेको छैन । तर १० नेपालीको नरसंहार गरेको घटनालाई चटक्कै बिर्सेर पूर्वप्रधानमन्त्री भट्टराईले प्यालेष्टाइनी आतंककारी समूह हमासको पक्षमा प्रदर्शन गर्दा इजरायलमा रहेका हजारौं नेपाली चिन्तामा परेका छन् ।
१० बर्षे माओवादी सशस्त्र द्वन्द्वमा १७ हजारको हत्या भएको र त्यसको जिम्मा आफूले लिन नसक्ने भन्दै डा. बाबुराम भट्टराईले पार्टी छाडेका थिए । १७ हजारको हत्याको जिम्मा लिन नसक्ने भनेर माओवादीबाट बाहिरिएका डा. भट्टराईले १० जना नेपालीको नृशंस हत्या गर्ने प्यालेष्टाइनीको पक्षमा प्रदर्शन गर्न जानुले उनमा अझै पनि युद्धको धङधङ्गी बाँकी नै रहेको देखिन्छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend