धनगढी । कोरोना संक्रमणले नेपालमा पनि भयावह रुप लिंदै गएको छ । सुदूरपश्चिम प्रदेशमा आज ११९ जना कोभिड—१९ का सङ्क्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डोटी जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । आज थपिएका समेत प्रदेशमा हालसम्म कूल सात हजार ७८० जना सङ्क्रमित पुगेका छन् ।
मन्त्रालयको तथ्याङ्कका अनुसार सक्रिय सङ्क्रमित बिरामी आज एक हजार ७४ जना छन् । असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो बीस दिनमा थप छ जनाको मृत्यु भएपछि आजसम्म यो रोगबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । पछिल्ला दिनमा कोभिड—१९ का सक्रिय सङ्क्रमितको दर पनि बढ्दै गएको देखिएको छ ।
कर्णालीमा सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो
कोरोना भाइरसबाट सङ्क्रमित हुने क्रम बढ्दै गएपछि कर्णालीमा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार सङ्क्रमितहरुको सङ्ख्या आज ६९ थपिएका छन् । आज ६९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३७ पुगेको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौजहारी पिसीआर प्रयोगशालामा गरिएको आरटी पिसीआर परीक्षणमा सुर्खेतका ५४, दैलेखका पाँच, डोल्पाका दुई, रुकुमपश्चिम र जुम्लाका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले बताउनुभयो । “आज ४४ व्यक्ति कोरोना निको भएर घर फिर्ता भएका छन्,” उहाँले भन्नुभयो, “४४ व्यक्ति फिर्ता भएसँगै तीन हजार २२९ व्यक्ति भने सङ्क्रमणमुक्त भएका छन् ।”
सङ्क्रमितहरुमा कन्ट्याक्ट टे«सिङ परेका २८, विद्यार्थी नौ, सैनिक सात, कर्मचारी, सुनचाँदी पसले, बिरामी दुई—दुई, वैदेशिक रोजगार, व्यापारी, स्वास्थ्यकर्मी, पत्रकार, निर्माण व्यवसायी, सहकारी र प्राध्यापक एक—एक जना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी प्रदेशका विभिन्न आइसोलेशनमा ७८२ जना सङ्क्रमित रहेको उहाँले जनाउनुभयो । हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट १० जना व्यक्तिको मृत्यु भएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।