Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा सशस्त्रका हाकिमको सेटिङमा तस्करी, राजस्वद्वारा ३ दिनमा करोडभन्दा बढीका कपडा बरामद


    सोमबार, असोज १५ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • लहान । सिरहाका विभिन्न नाकाबाट भन्सार छलीका सामान भित्रिएको सूचनापछि राजस्व अनुसन्धान कार्यालय इटहरीले विशेष निगरानी बढाएको छ । राजस्वको टोलीले ३ दिनयता एकपछि अर्को भन्सार छलीका सामान बरामद गर्दैआएको छ ।

    राजस्व अनुसन्धानको टोलीले सोमबार ३२ लाख मूल्यबराबरको भन्सारछलीको कपडा बरामद गरेको छ । सोमबार बिहान सिरहा नगरपालिका– १५ बुधौराबाट भन्सार छलेर लुकाइराखेको लत्ताकपडा बरामद गरेको छ ।

    गएको शनिबार राजस्व अनुसन्धान बिभागको टोलीले सुकसैना नाकाबाट भित्रिएको ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो भने आइतबार तस्करीको कपडा बोकेको ट्रकचोहर्वाबाट नियन्त्रणमा लिएको थियो ।

    सिरहाको सशस्त्र प्रहरी गण नम्बर ७ का एसपी प्रमोद भारतीको सेटिङमा दिनेश चौधरी, गोपाल कुर्मीलगायतले भन्सारछलीका कपडा भित्र्याएको स्रोतले बताएको छ । एसपी भारतीका कपडाको कारोबार गर्ने परिवारका सदस्यको समेत संलग्नतामा कपडाको तस्करी भएको समाचार नेपालफेस डटकमले सार्वजनिक गरिसकेको छ ।

    राजस्व अनुसन्धान विभागले ३ दिनदेखि लगातार तस्करीका सामान बोकेको ट्रक बरामद गरेपछि एसपी प्रमोद भारती र बोर्डर आउट पोस्ट माडरका प्रमुख डीएसपी रामहरि खड्कालाई सशस्त्र प्रहरीको मधेश प्रदेश बाहिनीले छानबिनका लागि तानेको छ । स्रोतका अनुसार बाहिनीमा तानिएका एसपी भारतीले अझै पनि तस्करीको लाइन दिएका ब्यापारीहरुलाई २–३ दिनमै फर्किने र सबै मिलाउने आश्वासन दिइरहेका छन् ।

    सशस्त्रका एसपी भारतीसँग सेटिङ गरी दशैंको मुखमा भारतसँग सीमा जोडएका सिरहाका विभिन्न नाकाबाट ठूलो मात्रामा कपडा लगायतका सामान भन्सारछली गरी भित्र्याएका ब्यापारीहरुले राजस्वले छापा मारेपछि चोहर्वा, गोलबजार, मिर्चैया, लहानका गोदाममा थुपारेर राखेका छन् ।

    राजस्वले ठूलो मात्रामा भन्सारछली गरी सामान भित्र्याएको सूचना पाएकाले सुक्ष्म निगरानी गरिरहेको छ । ब्यापारीहरुले गोदाममा भरिभराउ सामान राखेर राजस्वको टोली फर्किएपछि काठमाडौंतर्फ पठाउने योजना बनाएका छन् । राजस्व अनुसन्धानको ध्यान भने ब्यापारीले लुकाएको सामानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार