Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सामान्य प्रशासन मन्त्रीका थरीथरीका बिचौलिया, सीके र जनमत पार्टीको बदनाम गर्दै

    हरेन्द्र चौधरी र अनितादेवीको साँठगाँठ


    शुक्रबार, असोज १२ २०८०
    3.8K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवाका कारण सधैं विवादमा पर्ने गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका अमनलाल मोदीलाई मन्त्रीबाट राजीनामा दिन लगाएर जनमत पार्टीकी अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    जनमत पार्टीले यसअघि खानेपानी मन्त्रालय पाएको थियो । खानेपानी मन्त्री अब्दुल खानलाई राजीनामा दिन लगाएर बीचमा केही समय सरकारबाट बाहिरिएको जनमतका अध्यक्ष सीके राउतले जनकपुर उपमहानगरको मेयरमा पराजीत भएकी अनितादेवीलाई सामान्य प्रशासन मन्त्रीमा पठाएका छन् । मधेशवादी दलहरुको अनियमितताबाट वाक्क भएका नागरिकमा नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीले सम्हालेको मन्त्रालयमा सुधारको अपेक्षा गर्नेहरुलाई सामान्य प्रशासन मन्त्रालयमा देखिएको बेथितिका दृश्यले निराश पार्ने काम गरेको छ ।

    यसअघि माओवादीका मन्त्री अमनलाल मोदीले मधेश प्रदेशका स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी खटाएर निमित्त हटाउने अभियान थालेका थिए । तर नयाँ मन्त्री आएपछि नगरपालिकाहरुमा समेत शाखा अधिकृतलाई जिम्मेवारी दिन थालिएको छ । जवकि यसअघि गाउँपालिकाहरुमा अनिवार्य शाखा अधिकृत र नगरपालिकाहरुमा उसचिव र सहसचिव पठाउने गरिएको थियो ।

    अहिले पनि काठमाडौंसहित विभिन्न मन्त्रालय र अड्डाहरुमा सैयौंको संख्यामा कर्मचारीहरु बरण्डामा छन् । तर कतिपय पालिका खाली छन्, कतिपय पालिकाहरुमा एउटै अधिकृतले काम चलाएका छन् । कतिपयमा निमित्तको कुशासन चलाइएको छ भने कतिपय स्थानमा दरबन्दी भन्दा तल्लो तहकाले काम चलाइरहेका छन् ।

    सामान्य प्रशासन मन्त्री अनितादेवीले सरुवामा मोलमोलाइ गर्नका लागि बिचौलियाहरुलाई खटाएको आरोप छ । ती बिचौलियामा हरेन्द्र चौधरी मुख्य हुन् । चौधरी मन्त्रीको सचिवालयमा छैनन् । तर उनले सरुवामा बिचौलियाको काम गरेको थाहा भएर पनि मन्त्रीले उनलाई रोक्नुको साटो संरक्षण गरेकोमा सचिवालयका कर्मचारी नै रुष्ट छन् ।

    मन्त्री साहले नै आफूलाई सरुवा हेर्ने जिम्मा दिएको भन्दै उनले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतमा जान चाहने अधिकृत र उपसचिवहरुसँग डिल गर्ने गरेका छन् । त्यतिमात्र होइन, आर्थिक चलखेलमा नगरपालिकामा शाखा अधिकृतलाई खटाउने र कतिपय पालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउने वातावरण बनाएर समेत हरेन्द्रले मन्त्री अनिताका नाममा पैसा उठाउने गरेको आरोप छ । उनले मन्त्रीको सचिवालयका तल्लो तहका कर्मचारीलाई प्रलोभन दिएर र कतिपयलाई मन्त्रीलाई कुरा लगाएर जागिर नै खाइदिने त्रास देखाएर सूचना लिने गरेका छन् । ती कर्मचारीहरुलाई दिउँसो, साँझ होटल, रेष्टुरेन्टमा बोलाउँदै सूचना लिने गरेका छन् ।

    हरेन्द्र चौधरीले सीके राउत र अनितादेवी साहसँगका यस्तै तस्वीर देखाउँदै सामान्यमा काम लिने गरेका छन् 

    स्रोतका अनुसार स्थानीय तहका डीपीआर लगायतका काम पनि उनले मन्त्रीकै नाम लिएर लिने गरेका छन् । मन्त्री, उनका श्रीमान संजय साह र भाइ सन्तोष साहसँग कनेक्सन मिलाएर उनले सरुवादेखि सबै काम गर्ने गरेका छन् । यसअघि खानेपानी मन्त्री अब्द्ुल खान हुँदा जनमत अध्यक्ष सीके राउतकै पीए हुँ भनेर आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटा र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका तत्कालीन प्रमुख मिलन शाक्यसँग पनि पार्टीको नाममा सहयोग लिएको आरोप छ । अध्यक्ष राउतसँग खिचेका तस्वीर देखाएर उनले भ्रमित पारी रकम फुत्काएका थिए ।

    खानेपानीमा हुँदै चलखेलमा अनुभवी भएकाले मन्त्री अनितादेवीले उनलाई सामान्यमा सरुवाको डिल गर्न परिचालन गरेको स्रोत बताउँछ । सीके राउतले मन्त्री अनितालाई सल्लाह दिनका लागि पठाएका ब्यक्तिहरुको बिरुद्ध मिडियाबाजी गर्ने काम पनि उनैले गरेको सूचना जनमतमा पुगेको छ । मन्त्री साहलाई सीके राउतकै बिरुद्ध भड्काउने काम समेत गर्ने गरेका छन् । मन्त्री पटक पटक भइँदैन, पाएको मौका गुमाउनुहुँदैन, हामी बलियो हुनुपर्छ, बलियो हुन पैसा चाहिन्छ भनेर उचाल्ने काम पनि हरेन्द्रले गर्दैआएको स्रोत बताउँछ ।

    मन्त्रीले पैसाका लागि हरेन्द्र जस्ता बिचौलिया खटाएर अध्यक्ष डा. राउत र जनमत पार्टीकै बदनाम गरेपछि केही दिनअघि मन्त्रालयमा सरुवाको बिषयमा विवाद हुँदा कुटाकुट नै भएको थियो । जसका कारण पार्टीकै बदनाम हुन पुगेको छ । सरुवाको लागि खुलेआम मोलमोलाई हुने गरेको छ । होटल होटलमा, सामान्य प्रशासन मन्त्रालय परिसर र सिंहदरबारका क्यान्टिन र कुनाकाप्चामा समेत हरेन्द्र चौधरीहरुले हाक्काहाक्की सरुवाको मोलमोलाई गर्ने गरेका छन् । जसले गर्दा जनमत पार्टी पनि जसपा र लोसपाकै जस्तो कान चिरेकै जोगीमा रुपान्तरण हुँदै गएको महसुस मधेशी नागरिकले गर्न थालेका छन् । जसपा र लोसपाका नेताहरु जसरी पटक पटक सत्तामा गएर आर्थिक अनियमिततामा डुबी स्वीमीङ पुल भएका महलमा रमाउन थाले, जनताबाट टाढिए, सामान्य प्रशासनमा भएको सरुवाको बेथितिले त्यस्तै नियति राउतको जनमत पार्टीको हुने संभावना बढेको छ ।

    जसपा, लोसपामा भ्रष्टाचार गरिसकेका बदनामहरु नै सामान्य प्रशासनमा देखिने गरेका छन् । कतै मधेशी जनताको आशा भरोसा बोकेको जनमत र अध्यक्ष राउतको बदनाम गर्न ती पार्टीकै नेताहरुले हरेन्द्रहरुलाई परिचालन गरेका त होइनन् भन्ने आशंका उक्त पार्टीको हित चिताउनेहरुले गर्न थालेका छन् । हरेन्द्र जनमत पार्टीको कुनै तहमा नभए पनि सीके राउत र मन्त्रीसँगको तस्वीर देखाउँदे उनले कर्मचारीहरुसँग डिल गर्ने गरेका छन् । उनले पहिला आर्थिक कारोबार गरिसकेपछि मन्त्री साहकोमा लाने र उहाँ अध्यक्ष राउतको फ्यान हुनुहुन्छ भनेर काम गर्न लगाउने गरेका छन् ।

    आर्थिक अनियमिततामा मुछिएका विवादित कर्मचारीलाई समेत उनले जनमत पार्टीको भन्दै मन्त्रीमार्फत् काम गर्ने गरेका छन् । यस्तो दृश्य देखेका सचिवालयका कर्मचारीहरुले हरेन्द्रलाई मन्त्रीले नै बिचौलियाका रुपमा खटाएको महसुस गर्ने गरेका छन् ।

    बिचौलियामुक्त गर्न मन्त्रालयमा सीसीटीभी राखिएको भनिए पनि नौटंकीमात्र भएको टिप्पणी कर्मचारी गर्दछन् । आफूले परिचालन गरेका बिचौलियामार्फत् पैसा संकलन गर्न सहज होस् भनेर अरुलाई रोक्न मात्र राखिएको त होइन भन्ने चर्चा सामान्यमा हुने गरेको छ । हरेन्द्र चौधरीलाई जनमत पार्टीले साधारण सदस्यताबाट समेत हटाउनुपर्ने सुझाव जनमतका धेरै नेताहरुले दिइसकेका छन् । तर मन्त्री र उनको परिवारले चौधरीलाई संरक्षण गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार