Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेटर सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित


    आइतबार, असोज ७ २०८०
    1000
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ। किशोरी बलात्कारको अभियोग खेपिरहेका लामिछानेको उक्त मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै पटकपटक स्थगित हुँदै आएको छ।

    काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज(आइतबार) पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो। यसअघि असोज १ गते पनि न्यायाधीश अभावका कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो।

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँट मात्रै इजलास बस्नेछ। न्यायाधीशहरू नभएका कारण १५ वटा फाँटमा इजलास नबस्ने उनले बताए।

    गोला प्रथाबाट इजलास तोकिँदा सन्दीप विरूद्धको मुद्दा आज उपस्थित न्यायाधीशहरू कसैकोमा पनि नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको उनले बताए।

    उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट न्यायाधीशहरू सरूवा भएर अन्यत्त्र गएको र अन्यत्त्रबाट काठमाडौं सरूवा भएका न्यायाधीशहरू अझै काममा नआइसकेकाले कतिपय मुद्दाहरूको सुनुवाइ स्थगित भएको हो।

    सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन।

    यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पुनः पीडितको जन्मदर्ता प्रमाणीत गर्न आदेश दिएकी थिइन्।

    त्यस दिन सन्दीपका वकिल सरोज घिमिरेले बसाइ सर्नु अघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुनसक्ने भन्दै त्यो कागजात मगाउन माग गरेपछि न्यायाधीश कार्कीको इजलासले बसाइ सरी जानुअघिको पालिकाबाट फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको थियो।

    त्यसअघि पनि अदालतले बसाइ सरी गएको पालिकाबाट जन्ममिति भएको कागजात मागेको थियो।

    राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार