Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ एमाले र एकीकृत समाजवादीबीच माधव नेपालले देखाएको ७ भिन्नता


    मंगलबार, भाद्र ५ २०८०
    800
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग २०७८ भदौ २ गते गरेको विद्रोह र नयाँ आन्दोलनको विकास औचित्यपूर्ण रहेको उल्लेख गरेका छन्।

    नेकपा (एमाले) को नेतृत्व गुटमा देखा परेको दक्षिणपन्थी विसर्जनवादका विरूद्ध विद्रोह गरेको र त्यो पुष्टि भएको उनले दाबी गरेका हुन्।

    आज मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरू भएको केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एमालेसँगको विद्रोह औचित्यपूर्ण रहेको निष्कर्ष निकालेका हुन्।

    नेपालले एकीकृत समाजवादीभन्दा सात बुँदामा भिन्न रहेको बताएका छन्।

    यस्तो छ उनले देखाएको फरक:

    १) हामी २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत् सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौं भने एमाले यो मान्दैन।

    २) हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्छौं भने एमाले यो मान्दैन।

    ३) हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौं भने एमाले यो मान्दैन।

    ४) हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौं भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ।

    ५) हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौं भने एमाले यो मान्दैन।

    ६) हामी समाजवादी कार्यदिशा अंगाल्ने भन्छौं भने एमाले यो मान्दैन।

    ७) हामी प्रतिगामी पुनरूत्थानवादी तत्वहरूका विरूद्ध प्रहार केन्द्रित गर्ने भन्छौं भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ।

    यी सवालहरूमा एकीकृत समाजवादी र एमालेबीच भिन्नता रहेकाले विद्रोहको औचित्य पुष्टि भएको अध्यक्ष नेपालको दाबी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार