Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इटहरी उपमहानगरद्वारा बजार अनुगमन, बासी मासु बिक्री गर्ने पसलमा ताला लगाइयो


    सोमबार, साउन १ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • इटहरी । इटहरी उपमहानगरपालिकाले आज(सोमबार) बजार अनुगमन गरेको छ। इटहरी उपमहानगरपालिकाले अनुगमनका क्रममा मिठाई पसल तथा मासु पसलहरुको अनुगमन गरेको थियो ।

    इटहरीको उक्त बजार अनुगमनमा बासी र सडेगलेको मिठाई मासु बिक्री वितरण गर्ने गरेको भेटिएको छ । बासी लगेको मासु बिक्री गर्ने एक पसलमा उपमहानगरले ताला लगाएको छ ।

    अनुगमनका क्रममा बिक्रीका लागि राखिएको मासु दुई तिन दिन देखी राखेको र गलेको अवस्थामा भेटिएको थियो । बीपी चौक स्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखिएको थियो । खान अयोग्य भेटिएपछि उपमहानगरले सो पसलमा ताला लगाई दिएको छ ।

    यस्तै इटहरीका केही मिठाई पसलमा अखाद्य वस्तु भेटिएको छ । बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्किएको, किरा परेको भेटिएको थियो । इटहरीको मुख्य बजारमै सञ्चालनमा रहेको नटराज मिठाई पसलमा म्याद गुज्रिएका खानेकुरा भेटिएको थियो ।

    मेयर हेमकर्ण पौडेल सहित पुगेको अनुगमन टोलीले सामानको म्याद हेर्न थालेपछि पसलका सञ्चालकले हतार हतार म्याद गुज्रिएको सामान मिल्काएका थिए । मेयर पौडेलकै अगाडी म्याद गुज्रिएको सामान फालेका सञ्चालकले पछि माफी मागेका थिए । उनको पसल माथि कानुनी कारबाही अगाडि बढाइने जनाइएको छ ।

    अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हिरा होटल, सगुन स्विट्स, बालाजी मिठाई पसल लगायतका मिठाई पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा भान्छा सफा नभएको, म्याद गुज्रिएका खाद्यान्न विक्रीका लागि राखिएको, सरसफाइ राम्रोसँग नभएको जस्ता कैफियत भेटिएको थियो ।

    बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिँगा र कीरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएपछि ती नष्ट गरी कानुनी कारबाही अगाडि बढाइएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार