सूर्यवदना घिमिरे पण्डित
काठमाडौं । हामीलाई कैलाश मनसरोवरको महत्व र परिचर्चा पहिला त्यति धेरै थाहा थिएन । साँच्चै भन्नुपर्दा ‘कैलाशमा शिवजी छन् त छन्, दर्शन दिन्छन् दिँदैनन् जाऊँ जान त’ भन्ने भजन गाइन्थ्यो । कोही मान्छेको देहावसान हुँदा वैकुण्ठ बास होस्, कैलाशमा बास होस् भनेको पनि सुनिन्थ्यो । कैलाश भनेको कता हो कता भनेजस्तो लाग्थ्यो । चार बर्षअघि हाम्रा छिमेकी दम्पति कैलाश मानसरोवर यात्रा गरेर आएको कुरा थाहा भयो । हामीले पनि यस विषयमा खोजी गर्न थाल्यौँ ।
अब कैलाश र मानसरोवरको विषयमा थोरै चर्चा गरौँः कैलाश र मानसरोवरको विषयमा स्कन्ध पुराण अन्तर्गत मानस खण्ड र हिमवत खण्डमा बर्णन गरेको पाइयो । हामी सनातन हिन्दूधर्मका अनुयायीहरू प्राकृतिक दृश्य हेर्न मात्र भन्दा पनि धार्मिक महत्व जोडिएको स्थानलाई दिव्यधामको रूपमा लिन्छौँ । यसकारण त्यहाँ जान इच्छुक नहुने कुरै आएन ।
भौगोलिक रूपमा भन्दा कैलाश गुर्लामान्धाता पर्वत श्रृंखलामा पर्ने तिब्बतको दक्षिण–पश्चिम क्षेत्रमा रहेको हिमाच्छादित पर्वत हो र मानसरोवर भनेको कैलाशबाट करिव ५२ किलोमिटर दक्षिणमा रहेको सफा पानीको ठूलो कुण्ड हो । पर्वत देख्दा पूर्णकलश आकारको भएकोले कैलाश भनिएको हो भन्ने पनि उल्लेख गरेको पाइन्छ । यो कैलाश पर्वत खोक्रो भएकोले भित्रबाट ॐकारको ध्वनी गुञ्जन्छ भन्ने पनि उल्लेख छ । हाम्रो शास्त्रीय मान्यता अनुसार कैलाश पर्वत शिव पार्वतीको बासस्थान हो । मानसरोवरलाई शिव पार्वती लगायत सबै देवीदेवताहरूले स्नान गर्ने कुण्ड भनिएको छ । यो सरोवर करिब ४५५९ मिटरको उचाइमा रहेको छ । यसको फैलावट ३२० वर्ग किलोमिटर एवं करिब १०० मिटर गहिरो छ भनिन्छ ।
यसैगरी मानसरोवरलाई क्षिरसागरका रूपमा भगवान विष्णुको बासस्थान भनेर पनि लेखिएको छ । यस्ता कुराहरूको जानकारी पाएपछि त्यता जानको लागि मनले उत्प्रेरित गरिरह्यो । उक्त यात्राका लागि बिभिन्न ट्राभल एजेन्सीहरूले हरेक बर्ष व्यवस्थापन गराइरहेको सुनिन्थ्यो । कोभिड १९ शुरु भएपछि त्यो व्यवसाय ठप्पै भयो । स्टेरिङ झिकेका गाडी जसरी थन्किए व्यवसायीहरू । कोभिडले धेरैको रोजीरोटी खोस्यो । कतिको ज्यान लग्यो । संसारका अधिकांश मान्छेलाई घरैमा नजरबन्दमा राख्यो । कोही आपूmलाई वा परिवारलाई कोभिड लागेपछि दुव्र्यहारको शिकार भए । कोही विदेश यात्राबाट फर्केको कारणले रोगै नलागे पनि प्रताडित भए ।

जति आतंक मच्चाए पनि सन् २०२३ अर्थात् बि.सं. २०७९ तिर आइपुग्दा कोभिड भाग्यो । जनसमुदायले टाउको उठाउन थाले, अर्थात् थालियो । हामीले चार बर्षअघिदेखि सम्पर्क गरिरहेको संस्था नमस्ते होलिडेजले अब कैलाश मानसरेवर यात्रा खुल्ने भयो भनेर खवर ग¥यो । कैलाश मानसरोवरको यात्रा गर्न आफन्त, साथीभाइ, छिमेकीहरूलाई पनि सूचना दियौँ । सूचना पाएका मध्ये भतिजी पार्वता र ज्वाईं शालिकराम न्यौपाने, सुशीला भाञ्जी र ज्वाईँ विष्णु घिमिरे, बहिनी पार्वती कोइराला र भाउजू कल्पना शर्मा पनि जान इच्छुक हुनुभयो ।
यात्राका विषयमा बुझ्न २०७९ चैत्र २० गते नागपोखरी नजिक रहेको नमस्ते होलिडेजको कार्यालयमा पुग्यौँ । मेनेजिङ डाइरेक्टर बसन्त बरालसँग कुराकानी भयो । त्यहाँबाट प्रकाशित ब्रोसर र सन् २०२३ को यात्रातालिका लियौँ । हामी जानको लागि असार ३ गतेको मिति निर्धारण ग¥यौँ । उक्त होलिडेजले निर्माण गरेको युट्युबमा भएको भिडियो घरमा आइपुग्नासाथ खोलेर हे¥यौँ । बैशाख १४–१५ गतेतिर भिषाको तयारी शुरु भयो । चाइनिज भिषाका लागि २० एमएम अनुहार देखिने फोटो चाहिने रहेछ । नजिकैको स्टुडियोमा खिचेर नमस्ते होलिडेजमा पठाइदिने गरी छोड्यौँ ।
हामीभन्दा अगाडि मेरो एकजना साथीका कैलाश मानसरोवरबाट फर्केपछि यात्राका क्रममा खिचिएका तस्विरहरू फेसबुकमा देखेर फोन गरेँ । यस अगाडिका वर्षहरूमा हिँडेर कैलाश परिक्रमा गर्न असहज हुनेहरूले घोडा चढ्थे रे । तर यसवर्ष त्यहाँ घोडा थिएनन् रे । घोडा चढेर परिक्रमा गर्ने मनस्थितिमा रहेका हामी बुढाबुढीलाई थोरै खल्लोेजस्तो लाग्यो । भिषा लिएपछि सरसामान तयार पारौँला भनेर बस्दाबस्दै भिषाको काम ढिला भयो । तैपनि सुने, बुझे अनुसार तयारी गर्दै रह्याँै । यसअघि २०७४ सालमा ४५ दिनको लागि बाह्र ज्वोतिर्लिङ र तीनधाम यात्रामा जाँदाभन्दा पनि यसपटक तयारी बढी गरियो ।
यत्तिकैमा ३० गते मंगलवार, बिहान ९ बजे कमलादीको राइजिङ मलमा चिनिया भिषाको प्रक्रिया पूरा गर्नेकाम र दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा कैलाश यात्राको विषयमा ब्रिफिङ भयो ।
लम्जुङ सुन्दबजार लक्ष्मीनारायण मन्दिरका पुजारी दिनेश अधिकारी लगायत सँगै जाने पैँतीस जनासँग भेट भयो । यात्रा समाप्त भएपछि फिर्ता गर्नेगरी ज्याकेट र फिर्ता गर्न नपर्नेगरी एउटा एउटा ठूलो र सानो झोला अनि टोपी पनि नमस्ते होलिडेजबाट प्राप्त भयो । यस होलिडेजले १८–१९ वर्ष अघिबाट कैलाश मानसरोवरको यात्रा गराएको रहेछ । शुरुमा भारतीयहरूमात्र त्यसतर्फ जान्थे रे । बितेका ६–७ वर्ष अघिदेखि मात्र नेपालीहरू पनि जान शुरु गरेका हुन् भन्ने बुझियो ।
हरेक तीर्थयात्राको लागि तन, मन र समय मिल्नै पर्छ । त्यसमाथि पनि यस यात्रामा एक दम्पति मात्र जाँदा पनि उक्त तीन कुराका अतिरिक्त धनको व्ययस्थापन गर्नुपर्ने रहेछ । शुरुमा यात्राका लागि होलिडेजलाई प्रतिव्यक्ति रु. १,६५,०००।– बुझाउनुपर्ने भन्ने ब्रोसरहरूमा लेखिएको भए पनि पछि रु.१,५०,०००।–मा लैजाने कुराको टुंगो लागेको थियो । चीनमा फेसबुक लगायत अरू मोबाइल एपले नेपालमा सम्पर्क गर्न सहज नहुने हुनाले ‘विच्याट’ भन्ने एप डाउनलोड गर्न भनियो । यो एप डाउनलोड गरेर सञ्चालनमा ल्याउन एक महिनाअघिदेखि ‘विच्याट’ चलाएको मान्छेले सिफारिसजस्तो गर्नुपर्ने रहेछ ।
यात्राको लागि यस होलिडेजबाट हाम्रो ३५ जनाको टिममा गाइड र भान्छे गरेर छ–सातजना जाने रहेछन् । होलिडेजले यात्रा गराउन शुरु गरेदेखि हरेकवर्षको ७–८ पटक गएका भान्छे तथा गाइडको रूपमा गएका मान्छेलाई पनि भेट्यौँ । हाम्रो टिममा जाने गाइड मनोज तामाङको पनि कैलाश मानसरोवरको यात्रा धेरैपटक पुगेको रहेछ । यस्ता अनुभवी व्यक्ति गाइड पाएकोमा धेरै खुसी लाग्यो ।
भोलिपल्ट अर्थात् जेठ ३२ गते भिषा अझै हातमा आएको थिएन । चिनियाँ युआनको कुरा बुझ्न ठमेलका बैँकहरू र मनिचेञ्जरहरूमा बुझ्यौँ । जता सोध्दा पनि आजकल चाइनिज आएका छैनन्, युआन छैन भन्ने जवाफ पाइयो । हुन पनि हो, पर्यटक आएका छैनन् । आफ्नो निकासी केही छैन, कसरी प्राप्त हुन्छ र चाइनिज मुद्रा ? तैपनि करिव एकघण्टा नेपाली पैसाको मुठो बोकेर ठमेल चाहा¥यौ । निकासी विना आयातमा भर परेको देशको चित्रण थियो त्यो । बल्लबल्ल एउटा मनिचेञ्जरकी बैनीले धेरैतिर फोन गरेर हामीलाई चाहिने पैसाको जोहो गरिदिइन् ।
जेठ ३ गते बिहान पशुपतिमा स्वस्तिवाचन गरेर कैलाश मानसरोवरको लागि यात्रा शुरु भयो । टोखातिरको बाटो हुँदै नुवाकोटको विदुर, वेत्रावती, त्रिशूलीको किनारै किनार स्याफ्रुबेसी हुँदै टिमुरे पुगियो । उक्त सडक नेपाल–चीन व्यापारका लागि नेपाली सेनाले दुइवर्ष अघिमात्र ट्रयाक खोलेको रहेछ । साँझ करिब ५ बजे रसुवाको कैलाश होटलमा बास बसियो । बेलुका सुत्ने बेलामा कोही मानिस चिनियाँ अध्यागमनले पूजा सामान लैजान दिन्छ भन्छन्, कोही दिँदैन भन्छन् । कोही भने कर्मचारीको मुडमा भरपर्छ भन्छन् । आखिर सबैजसो पूजाका सामानहरू भान्छाका सामान भएको गाडीबाट पठाइयो र सबै पुगेछन् पनि । बिहान ८ बजे नास्ता लिएर २० मिनेट पैदल यात्रा गर्दै रसुवाको सीमाना रसुवागढी पुगियो । त्यो गढीको हो भनिए पनि खासै ऐतिहासिक निसाना भने केही देखिएन । नेपालको अध्यागमनमा
प्रस्थान (डिपार्चर) छाप लगाइयो । पुलमा बसेर चीनतर्फ हेर्दा राम्रा ठूला भवन थिए भने नेपालतर्फ चारबर्षअघि बनाउन थालेको एउटा भवन अधुरो अवस्थामा थियो । करिव २ घण्टा चीन र नेपालबीचको पुलमा बसेपछि चिनियाँ गाइड जिग्मे आए । यसपछि अध्यागमनको काम पूरा भयो । सबै यात्रुलाई चिनियाँ गाइडले खादा लगाएर स्वागत गरे । अबको यात्रा चिनियाँ गाइड समेत भएर चिनियाँ गाडीबाट नै अगाडि बढ्यो । गाइड जिग्मेलाई नेपाली भाषाका केही मात्र आउने र हिन्दीमा अलि बढी कुरो पु¥याउन सक्ने रहेछ । त्यस दिन साँझ करिव २९०० मिटर उचाइमा रहेको केरुङ शहरमा पुगेर बास भयो । त्यहाँ नेपाली पसलहरू पनि प्रशस्तै थिए । केरुङ बजारको बीचमा प्यागोडा शैलीको मन्दिरमा बुद्घको पूजा अर्चना हुने स्थान रहेछ । सो मन्दिर नेपालकी चेली भृकुटी र स्रङचङगम्पोको विवाह भएको स्थल हो भन्ने सुनियो । हिन्दू र बौद्घ दुबै दर्शनलाई प्रतिनिधित्व हुनेगरी बनाइएको मन्दिर रहेछ भन्ने लाग्यो ।
बिहानको नास्ता पछि, यात्रा शुरु गर्नु अगाडि सबै यात्रुलाई लेक नलाग्ने औषधि ‘जोलामाइड’ खान दिइयो र अबदेखि हरेक बिहान–बेलुका खानापछि खानपर्ने कुरा पनि भनियो गाइडबाट ।
ब्रहृमपुत्र नदीको किनारै किनार हरियाली हेर्दै तरेली परेका पहाड घुम्दै र उक्लिदै करिब ५२२३ मिटर उचाइको घुन्टाला भञ्ज्याङ पार गरियो । सबैलाई हल्का लेक लागेको महशुस भयो । कसैले भुटेका मकै, कसैले टिमुर, कसैले लसुनको पेष्टको अचार खाइयो, कसैले कपुर सुघँे । कोहीलाई हल्का अक्सिजन पनि लिनप¥यो । साँझ करिब ४५०० मीटर हाइटमा रहेको साँगाको द ग्राण्ड होटलमा पुगेर तेश्रो दिनको बास बसियो ।
६ गते तिब्बतको पठार अर्थात् निर्जन सीतमरुभूमिमा चौँरीहरू चरेका हेर्दै करिब ५२११ मिटर उचाईको भञ्ज्याङ पार गरेर समथर भागमा पुग्दा परैबाट मानसरोवर देखियो । सबैले एकस्वरमा ‘मानसरोवर’ भनेर चिच्याउँदाको गुञ्जन अहिले पनि कानमा ताजा छ । करिब ३–४ किलोमिटर गुडेर मानसरोवरको डिलमा पुगेपछि चढिरहेका गाडीहरू छोडेर ग्रिन गाडी अर्थात् चिनियाँ सरकारका गाडीले मानसरोवर परिक्रमा गरायो । परिक्रमाकै क्रममा सरोवरको दक्षिण किनारमा रोकेर स्नान वा सेचन र जल आच्मन गरेर नेपाल ल्याउने तीर्थजल भ¥यौँ ।
केहीबेर गाडी गुडेपछि दक्षिणपट्टि मानसरोवरको ३०–४० मिटरको फासलामा राक्षस ताल देखियो । त्यहाँ त्रेतायुगमा शिवभक्त रावणले तपस्या गरेको, नाचेको ठाउँ भएकोले राक्षस ताल भनिएको भन्ने कुरा लेखिएको रहेछ पुराणहरूमा । त्यस तालमा बस रोक्ने, ओर्लने चलन रहेनछ । बसबाट नै नजर लगाइयो । पहिलापहिला त त्यस ताललाई हेर्नै हुन्न पनि भनिथ्यो रे । त्यस तालको पानी नुनिलो छ भनिन्छ । साँझ करिब ६ बजे मानसरोवरको किनारमा रहेको सामान्य गेस्टहाउसमा बासको तय भयो ।
त्यही दिन पितृतर्पण आदि कार्य गरियो । मानसरोवरमा रातको समयमा कैलाशबाट ताराहरूको रूपमा, हाँसको रूपमा महादेव पार्वती आउँछन् रे भन्ने कहावत सुनेकोले त्यो दृश्य हेर्न हामी सरोवर नजिक बसेका थियौँ । एकजना यात्रीले राती करिव ३ बजे केही फरक खालको प्रकाशित दृश्य देखिन् रे भन्ने सुनियो । राति १२–०१ बजे उठेर हेरे पनि हामीले भने केही देखेनौँ । यस सरोवरमा बिहार गरिरहेका हाँसहरू प्रशस्त थिए भने राक्षस ताल शून्य थियो । सरोवरतर्फ फर्केर ध्यान बस्दा त्यस स्थानमा एकदम धेरै उर्जा भएको अनुभव भयो । उर्जाको अनुभव त केरुङबाट उकाला लागेदेखि नै भएको हो । अझै मानसरोवर वरपर अधिक उर्जा भएको अनुभूति भयो । हाम्रा ऋषिहरूले तपगर्न हिमाली क्षेत्र छान्नुको कारण पनि यस्तै उर्जाको कारण होला भन्ने लाग्यो ।
सात गते बिहान कैलाश पर्वतलाई सामुन्ने पारेर सामुहिक रूपमा पूजापाठ, रुद्री, होम, लक्षवर्ति प्रज्वलन आदि धार्मिक कार्य गरियो । खानापछि करिब ४० किलोमिटरको दूरी बसमा गएर करिव ४७०० मीटर उचाइमा रहेकोे दार्चेन शहरमा पुगेर बास बसियो । दार्चेन सहरलाई कैलाश पर्वतको वेसक्याम्प मानिदो रहेछ । सात गते बिहानको नास्तापछि सबै यात्रुहरू यमद्वार पुग्यौँ । त्यहाँ रहेको एउटा बौद्ध स्तुपा छिरेर अर्को भागमा गएपछि कैलाश परिक्रमा गर्ने क्रम शुरु हुने रहेछ । त्यहाँबाट १२ किलोमिटर हिंडेर करिब ४९०० मिटर उचाईमा रहेको देरापुक भन्ने स्थानमा पुगिने रहेछ । त्यहाँ पुगेपछि उमेर र स्वास्थ्यले साथ दिनेहरू परिक्रमालाई निरन्तरता दिने वा नदिने निर्णय गर्दा रहेछन् ।
हामी बुढाबुढी सहित तेह्रजना भने यमद्वारबाट अगाडि बढेनौँ । यमद्वार नजिकै, कैलाश पर्वतबाट आएको पवित्र हिमनदीमा गएर स्नान वा आचमनपछि पितृ तर्पणको कार्य गरियो । हाम्रो शास्त्रीय मान्यता अनुसार धार्मिकस्थलको जल, माटो र शिलाको ठूलो महत्व हुनेहुनाले सबैले त्यहाँबाट सबैकुरा लियौँ र होटलमा फर्कियौँ । देरापुक जाने यात्रुहरू कोही बेलुका, कोही राति र कोही सूर्यको पहिलो किरणले पोतिएको सुनौलो कैलाश पर्वतको दृश्यावलोकन गरेर होटलमा फर्किए ।
कैलाश परिक्रमा गर्न गएका हाम्रो टिमका यात्री १० जना–विष्णु घिमिरे, सुशिला घिमिरे, पार्वतीदेवी कोइराला, दिनेश अधिकारी, दुर्गा घिमिरे, बावुराम काफ्ले, विष्णुप्रसाद पौडेल, कविता श्रेष्ठ, सुष्मिता लामा र सुमित्रा लामाको प्रतिक्षा गर्दै दुईदिन होटलमा नै बसियो । हामी बसेको होटलका बेडहरूबाट कैलाश पर्वत छ्याङ्गै देखिने थियो । कैलाश हेर्दै बिहान बेलुकाको सन्ध्याबन्धन गर्न पाउदा मन आनन्द भयो । त्यस क्षेत्रमा पनि भरपुर उर्जाको अनुभव भयो । पहिला नमस्ते होलिडेजलाई पैसा बुझाउँदा धेरैजस्तो लागेको थियो । तर यात्राको व्यवस्थापन देख्दा सन्तुष्टिको तह उच्च रह्यो । कैलाश परिक्रमा सम्पन्न गरेर फर्केकाहरूलाई १० गते बिहान स्वागत गरियो । परिक्रमाका क्रममा करिब ५६२० मिटर उचाइको डोल्माला भञ्ज्याङ पार गरेपछि भेटिने गौरीकुण्डको जल सबैलाई वितरण भयो । यसपछि हाम्रो टोलीको फिर्ती यात्रा शुरु भयो । दार्चेनबाट हिँडेपछि त्यसदिनको बसाई साँघामा भयो । अन्तिम बास अर्थात् ११ गते केरुङमा बसेर १२ गते साँझ सकुशल काठमाडौ आइपुगियो ।
वास्तवमा भन्नुपर्दा, कैलाश मानसरोवर नेपालबाट टाढा हुँदै हैन रहेछ । जाँदा र आउँदा गरेर करिब १७०० किलोमिटर बसबाट यात्रा गरिएछ । यो हेर्दा मेचीमा बसाइ भएको व्यक्ति महाकाली पुगेर फर्के भन्दा पनि कम दूरी रहेछ । हिउँ परेदेखि बाहेक अरूबेला धेरै बाक्ला लुगा पनि बोक्नु नपर्ने अनुभव सुनाए परिक्रमा गर्नेहरूले । हावा नछिर्ने पातलो ट्राउजरभित्र सामान्य थर्माकोट र एउटा टिसर्ट माथि ज्याकेट लगाए हुने रहेछ । खानेकुराहरूमा पनि आफूलाई मनपर्ने केही कुराहरू र सँगै यात्रागर्दा केही बाँडेर खान रमाइलो हुने हुनाले बोक्ने मात्र हो । आफ्नै टिमका भान्छेले तयार गरेका परिकार खानसके पुग्ने रहेछ । कैलाश भन्ने बित्तिकै टाढाजस्तो लाग्नुका केही कारणहरू छन् । ती कारण हुन्–चीनको भिषा लिनुपर्ने, टोखादेखि नै उकालो लागेको लाग्यै करिव ५६०० मिटर भन्दा बढीको उचाइमा पुग्नुपर्ने । धेरैलाई मानिसलाई लेक लाग्ने समस्या हुने । चिसो बढी हुने र प्रतिव्यक्ति रु.१,५०,०००।– खर्च लाग्ने भएर मात्र हो भन्ने लाग्यो । त्यसमाथि पनि धर्मकर्म गर्न जाने भने बित्तिकै उमेर घर्केका मान्छे हुने हुनाले हाउगुजी मानिएको हुनुपर्छ ।
त्यसैले गुणरत्नमालामा भनिएको छ–
चंगा चित्त हँुदै, उमेर रहँदै, पैसा छँंदै हातमा
ब्याधीले नछुँदै र आयु रहँँदै बर्कत छँंदै गाथमा
आफ्नो श्रेय हुने पछि सुख हुने धन्दा छिनिहाल है
आग्लागि घरमा भएपछि कुवा खन्दा हुने छैन है ।
उमेर, बल र पैसाको चाँजापाँजो आफ्नो हातमा छँदै एकपटक सबैजनालाई कैलाश मानसरोवरको यात्रा गर्ने अवसर मिलोस् ।
हरि ॐ ।
(लेखक जीवन विज्ञानका प्रशिक्षक हुनुहुन्छ ।)
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend