Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुदूरपश्चिमका मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली


    बुधबार, असार ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धनगढी । मंगलबार जिप दुर्घटनामा परेर निधन भएका  सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्।

    आज (बुधबार) धनगढी रङ्गशालामा राखिएको पार्थिव शरीरमा प्रदेशका मन्त्रीहरू, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व सभामुख अर्जुनबहादुर थापा, प्रदेश सभा सदस्यहरू, आफन्त, शुभचिन्तक, राजनीतिक दलका नेता कार्यकर्ताहरूले श्रद्धाञ्जली दिएका हुन्।

    मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ जाँदै गर्दा मङ्गलबार बझाङकै केदारस्युँ गाउँपालिकामा दिउँसो २ बजे दुर्घटनामा परेको थियो । उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । सो अस्पतालले मङ्गलबार साँझ साढे ५ बजे मन्त्री सिंहलाई निधन भएको घोषणा गरेको थियो ।

    मन्त्री सिंहको पार्थिव शरीर दाहसंस्कारका लागि बुधबार ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट गृह जिल्ला बझाङ लगिने मुख्यमन्त्री कमलबहादुर शाहले बताए । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मङ्गलबार बझाङमै मृत्यु भएको थियो ।

    मन्त्रीसहितका तीनै जनाको दाहसंस्कार बझाङमै गरिने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार