Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेशसभा बैठक बहिस्कार गर्ने माओवादीको निर्णय


    बिहिबार, जेष्ठ २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले मधेश प्रदेश सभाको आजको बैठक बहिस्कार गर्ने निर्णय गरेको छ।

    आफूहरूले दिएको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै माओवादीले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो।

    आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

    ‘हामी मात्रै होइन कि कुनै पार्टीका सांसदले दिएका सुझावहरू नीति/कार्यक्रममा समेटिएनन्। त्यसैले हाम्रो पार्टीका सम्पूर्ण सांसदले बैठक बहिस्कार गर्न लागेका हुन्,’ एक सांसदले भने।

    सरकारले विभिन्न योजनाका रकम आर्थिक मसान्तको अन्तमा आएर रकमान्तर गरिरहेकोप्रति समेत माओवादीको असन्तुष्टि छ।

    ‘१० प्रतिशत कमिसन लिएर अहिले पनि मनोमानी तरिकाले सरकारले विभिन्न शीर्षकका बजेट रकमान्तर गरिरहेको छ। हामी यसको घोर विरोध गर्दछौं,’ ती सांसदले भने।

    केन्द्रीय नेताहरूबीच भएको सहमति अनुसार दुइटा मन्त्रालय नपाएपछि पछिल्लो समय माओवादी सरकारसँग असन्तुष्ट छ। गएको जेठ ९ गते संसदीय दलको बैठकले आफ्ना पार्टीका मन्त्रीलाई सरकारबाट बाहिरिने समेत निर्णय गरेको थियो। यद्यपि हालसम्म माओवादीले भने मन्त्री फिर्ता बोलाएको छैन।

    मधेश प्रदेश सरकारमा माओवादीको तर्फबाट सुनिता यादवले उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन्। त्यस्तै, रहबर अन्सारी भने सोही मन्त्रालयका राज्यमन्त्री छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार