Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेलम्चीमा जोखिम कायमै


    मंगलबार, जेष्ठ २३ २०८०
    955
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पुर्याएको दुई वर्ष पुग्न लाग्दा पनि सो क्षेत्रमा बाढीपहिरोको रोकथाम तथा सोबाट  हुन सक्ने जिउधनको क्षति रोक्न कुनै उपाय अपनाइएको पाइएको छैन । दुई वर्षअघि २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले सो क्षेत्रमा ठुलो जनधनको क्षति पुर्याएको थियो ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खोला र सो क्षेत्रमा आउन सक्ने बाढीपहिरोको रोकथाम तथा जोखिमबाट बच्न कुनै उपाय नअपनाइएको बताए । हेलम्बु गाउँपालिका बाढीपहिरोको सबैभन्दा बढी जोखिममा रहेको स्थानीय तह हो ।

    यस क्षेत्रका बासिन्दा जोखिम र त्रासमा नै बाँच्नु परेको गुनासो गर्दै शेर्पाले आमनागरिकको जिउधनको क्षति हुन नदिन बेलैमा बाढीपहिरोबाट यस क्षेत्रलाई बचाउने गरी आवश्यक संरचना निर्माण गरिदिन सङ्घीय र प्रदेश सरकारलाई पटक पटक आग्रह गरिए पनि अहिलेसम्म सुनुवाइ नभएको बताए ।

    भूगर्भ तथा खानी विभागका भूगर्भविद् शिव बाँस्कोटाले बाढीपहिरो आएको ठाउँमा कुनै पनि रोकथाम तथा पूर्वतयारी नगरिएकाले यो वर्षको वर्षायाममा पनि बाढीपहिरोको जोखिम कायमै रहेको बताए । मुलुकमा मनसुन भित्रिन अब एक हप्ता मात्र बाँकी रहँदासमेत कुनै तयारी नगरिएको उल्लेख गर्दै उनले मेलम्ची क्षेत्रमा बाढीपहिरोको विपत् अहिलेसम्म नटरेको बताए ।

    “भेम्बाथानको माथिबाट आउने पहिरो रोक्न सकिन्छ तर सो क्षेत्रभन्दा तल पनि पहिरो जान सक्ने थुप्रै स्थान पहिचान भएका छन्,” उनले भने, “यो वर्ष पहिरो जान सक्छ । पहिरो जान सक्ने स्थानको पहिचान गरिए पनि दुई वर्षको अवधिमा अहिलेसम्म रोकथामको कुनै उपाय अपनाउन सकिएको छैन ।”

    उनले यस वर्ष पनि छोटो समयको अन्तरालमा ठुलो पानी पर्यो भने मेलम्ची खोलाको तल्लो तटीय क्षेत्र र मेलम्ची खानेपानी आयोजनामा नै ठुलो क्षति पुग्न सक्ने सम्भावना कायमै रहेको बताए । जोखिम घटाउने वा रोकिने कुनै उपाय नअपनाइएकाले सो क्षेत्र र बस्ती पनि पहिले जस्तै जोखिममै रहेको उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार