Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका टोपबहादुरको सांसद पद के हुन्छ ?


    सोमबार, जेष्ठ १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने प्रलोभनमा पारी सङ्गठित रूपमा ठगी गरेको अभियोग लागेका नेकपा एमालेका निलम्बित सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी आइतबार पक्राउ परेका छन्। २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका रायमाझीको अब सांसद पद के हुन्छ भन्ने प्रश्न उठेको छ । उक्त प्रश्न निकै चासो को विषय बनेको छ।

    प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ मा संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था छ । बैठक नचलेको बेला भने त्यसबारेमा सूचना टाँस गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

    उपनियम ३ मा ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’ भन्ने व्यवस्था रहेको छ ।

    यस्तै उपनियम ४ मा कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परि कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको छ ।

    साथै उपनियम ३ बमोजिम पक्राउ भएको कुनै सदस्यले सफाइ पाएमा वा थुनामुक्त भएमा निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई तत्काल दिनुपर्ने व्यवस्था रहेको छ ।

    उक्त प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो। त्यतिबेला उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा थिए।

    आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई काठमाडौं आउने जानकारी गराएर रायमाझी सम्पर्कविहीन भएका थिए। उनका छोरा सन्दीप पक्राउ परिसकेका छन्।

    रायमाझी सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई फरारको सूचीमा राखेर खोजी गरेको थियो। उनी भारत भागेको अनुमान पनि गरिएको थियो। तर, पुर्जी जारी भएको ११ औं दिनमा रायमाझी काठमाडौंबाटै पक्राउ परेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार