Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवा भन्सारछली प्रकरणः तस्करीको लहरो अर्थ हुँदै बुढानीलकण्ठसम्म

    तस्करीमा सशस्त्र प्रहरीको पनि संलग्नता


    आइतबार, बैशाख ३१ २०८०
    6.5K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणले राज्यका उपल्लो तहका हाईप्रोफाइलका ब्यक्तिहरु नै धमाधम प्रहरी नियन्त्रणमा पर्दै गएको बेला कर्मचारी, ब्यापारी र सुरक्षा निकाय मिलेर कसरी तस्करी गर्दारहेछन् भन्ने कुराको पछिल्लो उदाहरण रसुवाको केरुङ भन्सार कार्यालयबाट भएको तस्करीले पुष्टि गरेको छ ।

    साथै, उक्त प्रकरणको फेहरिस्त नेपालफेसले शुक्रबारै सार्वजनिक गरिसकेको छ । तर पनि उक्त घटनालाई राजनीतिक उपल्लो तहदेखि अर्थ मन्त्रालयसम्मको मिलेमतोमा ढाकछोप गर्नका निम्ति बरामद भएका सामानको २ सय प्रतिशत जरिवाना तिराई तस्करीमा संलग्न कर्मचारीलाई पुनः रसु्वामै पठाउने प्रपन्च रचिएको छ ।

    अवैधरुपमा महँगा चिनियाँ रक्सीसमेत लुकाएर नेपाल छिराइएका ती कन्टेनर ६ सय बोरा ब्रान्डेड कस्मेटिक सामग्रीले भरिएका थिए । तर, बालबालिकाको जुत्ता–कपडा ल्याइएको प्रज्ञापनपत्र बनाई न्यून राजस्व तिरेर छुटाइएका थिए । ती कन्टेनर भन्सार यार्डबाट चिलिमे जलविद्युत आयोजनास्थल आइपुग्दा विभागको टोली रसुवा आउँदै गरेको सूचना लिक भएपछि चोरबाटो हुँदै रातारात दुबै कन्टेनरलाई पुनः भन्सारमा पुर्याइएको थियो । स्रोतका अनुसार ब्यापारीलाई उक्त सूचना भन्सार विभागका कर्मचारीले नै लिक गरेका थिए । उनीहरुको खोजी अहिले तीव्ररुपमा भइरहेको छ । अर्कातिर यो घटनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नजिकबाट नियालिरहेको छ ।

    रसुवा भन्सार कार्यालयबाट बिहीबार छुटेका ट्रकहरु पुनः फर्काएर भन्सारको यार्डमै लैजानका लागि सशस्त्र प्रहरीले समेत साथ दिएको देखिएको छ । सशस्त्र प्रहरीको साथ र सहयोगविना मध्यराति उक्त गाडी पुनः भन्सार यार्डमा प्रवेश गर्न संभव छैन ।

    बिहीबार बरामद प्रकरणपछि काठमाडौं तानिएका रसुवा भन्सार कार्यालयका अधिकृत बलराम भण्डारी र नायबसुब्बा इन्दु शर्मा राजनीतिक शक्तिकेन्द्रमा पुगेका थिए । उनीहरुलाई तत्कालै रसुवा पठाउँदा भूटानी शरणार्थी प्रकरण जस्तै आफू पनि तानिने भएकाले भन्सार विभाग उनीहरुलाई पठाइहाल्न तयार छैन ।

    भन्सार विभागले भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार प्रशासक नारायणप्रसाद भण्डारीलाई कारबाहीका लागि अर्थमन्त्रालयमा लेखी पठाएको छ । तर अर्थमन्त्रालयले आइतबारसम्म पनि उनलाई तानेको छैन । उनलाई तान्नतिर भन्दा यो काण्ड दबाउन अर्थमन्त्री डा. प्रकाशरण महत स्वयं नै लागेका छन् ।

    कर्मचारीले बासु बस्नेतसँग सेटिङ मिलाएर तस्करीको लाइन चलाउँदैआएका छन् । बिराटनगर भन्सारबाट तस्करीको लाइन चलाएका बस्नेतको सामान बरामद भएपछि भन्सार प्रमुख तारा सापकोटा तानिएका थिए । उनी तानिएपछि उक्त नाकाबाट बस्नेतले तस्करी गराउन सकेनन् । इन्दु शर्मासहितको तस्करीको सेटिङमा सशस्त्र प्रहरी बल भन्सार गुल्म रसुवाका प्रमुख डीएसपी पंकज चन्दको समेत मिलेमतो स्रोतको दाबी छ । नासु शर्मा र डीएसपी चन्द पनि भानु देउवाकै संरक्षणमा रसुवा सरुवा भएको उच्च स्रोत बताउँछ ।

    भन्सार यार्डबाट छुटेको गाडी १७ किलोमिटर टाढा पुगेपछि फर्काइएको र सशस्त्रले यार्डमा प्रवेश गराएको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्का भन्छन्–‘हामी छानबिन गरी तत्काल कारबाही गर्नेछौं ।’

    बासु बस्नेत, अमृत कार्की र नवराज तिमल्सिना संलग्न अमरदेव इन्टरप्राइजेजले उक्त एकैदिन भित्र्याएको सामानमा साढे ४ करोड भन्सार छली गरेको बुझाइ भन्सार विभागको छ । उनीहरुले सो दिन बा २ ख १७९३, ना ६ ख ५३७२ को गाडीमा ब्रान्डेड सामान काठमाडौं भित्र्याउँदै गर्दा भन्सार बिभागको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुले भन्सारका कर्मचारी, राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग सेटिङ गरी विगत लामो समयदेखि तस्करी गरी करोडौं भन्सारछली गर्दैआएका थिए ।

    यस बिषयमा प्रतिक्रिया लिन अमरदेव इन्टरप्राइेजजका संचालक अमृत कार्कीले भने–‘अमरदेव इन्टरप्राइनजेजमा मेरो नाममात्र जोडिएको हो, उक्त प्रकरणमा को को संलग्न छन् । मलाई थाहा छैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार