Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निरा हत्या प्रकरण: लुटपाटकै लागि धारिलो चक्कु प्रहार गरेको आरोपीको बयान


    आइतबार, बैशाख १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको कपनमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । आचार्यको हत्या गरेको आरोपमा प्रहरीले झापाका विनोद विकलाई पक्राउ गरेको हो ।

    ८ वैशाखमा कपनस्थित सरस्वतीनगरमा सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो ।

    आचार्यको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त हत्याको संलग्न विनोद विक हिजो साँझ झापाबाट पक्राउ परेपछि हत्याको उद्देश्य लुटपाट नै रहेको खुलेको हो ।

    धारिलो चक्कु प्रयोग गरी करिब २० पटक आक्रमण गरी निराको हत्या गरिएको थियो । हत्या भएको ९ दिनपछि शुक्रबार राति मात्रै आरोपीको पहिचान भएको थियो । प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद भएको खुलेको थियो ।

    त्यसलगत्तै प्रहरीले शनिवार बिहानै विनोद बस्ने गरेको काठमाडौँस्थित कोठामा छापा मारी हत्यामा समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको थियो । काठमाडौँबाट भागेर झापा पुगेका विकलाई प्रहरीले झापा नै पुगेर पक्राउ गरेको हो ।

    घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो । सोही समितिले शुक्रबारदेखि अनुसन्धान तीव्र पारेको थियो । घटनामा विनोदको संलग्नता रहेको आशङ्कापछि प्रहरीले विनोदको खोजी गरेको थियो । सोही क्रममा विनोदको डेरामा पुगेको प्रहरीले डेराबाट रगत लागेको कपडासमेत बरामद गरेको प्रहरी स्रोतको दाबी छ ।

    विनोदको संलग्नता पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)का दुई डीएसपी विनोदको खोजीमा शनिवार अपराह्न झापा गएका थिए । शनिवार नै विनोदलाई झापामा रहेको साथीको कोठामा लुकिबसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

    घटनाको छानबिन गरी दोषी पत्ता लगाउने जिम्मा पाएको समितिका एक सदस्यका अनुसार आरोपितले आफ्नो अपराध कबुल गरिसकेका छन् । हत्याको अन्य कुनै कारण नभएर लुटपाटको उद्देश्यमात्रै रहेको प्रारम्भिक बयान दिएको पनि समितिका एक सदस्यले बताए ।

    आचार्यले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार