Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यातायात कार्यालयका कर्मचारीसहित पाँच जना कारागार चलान


    मंगलबार, भाद्र १६ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको एकल इजलासले मुद्दामा थुनछेक आदेश गर्दै चोरीका मोटरसाइकल र स्कुटरका नक्कली कागजात बनाई बेचबिखन गिरोहमा संलग्न कम्प्युटर अपरेटर रानासहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

    जिल्ला प्रहरी कार्याय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले उक्त मुद्दाका पाँच जना पुर्पक्षका लागि कारागार चलान गरिएको बताउँदै दश जना धरौटीमा रिहा भएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा यातायात कार्यालय कैलालीका कम्प्युटर अपरेटर जितेन्द्र राना, कञ्चनपुरको लालझाँडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्यामकुमार राना, बेदकोट नगरपालिका–६ का हरेन्द्र राना र बेदकोट नगरपालिका–१० का सुवेश राना रहेका छन् । “अन्य दश जना रु ६० हजारदेखि रु तीन लाखसम्म धरौटीमा रिहा भएका छन्”, प्रवक्ता थापाले भन्नुभयो, “सोही घटनामा पक्राउ परेका यातायात कार्यालय कैलालीका कार्यालय सहयोगी गणेश भट्टराई रु डेढ लाख धरौटीमा रिहा भएका छन् ।”

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गत असार १५ गते १२ थान मोटसाइकल र कैलाली यातायात कार्यालयमा दर्ता देखाइएका १२ थान ब्लुबुकसहित अभियुक्तहरु सार्वजनिक गरेको थियो । अभियुक्तहरुले चोरीका सवारीसाधनलाई वैध बनाउन विभिन्न सरकारी कागजात किर्ते गर्नुका साथै मोटरसाइकल ग्रामीण बस्तीमा किनबेच गर्दै आएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार