काठमाडौं । पछिल्लो डेढ वर्षदेखि तलब नपाएका नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले तलब पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली खेलाडीको तलब शीर्षकमा पैसा पठाएसँगै खेलाडीले २० महिनापछि तलब पाउन लागेका हुन् ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय करारमा रहेका २२ खेलाडी र एक प्राविधिकको नामावली अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पठाएको थियो । सोही आधारमा खेलाडीको तलब निकासा भएको क्यान स्रोतले बताएको छ । सोमबार पठाइएको पैसा अब दुई दिनमा आइपुग्ने र क्यानले सो पैसा खेलाडीको खातामा हाल्दिने तयारी समेत भएको छ ।
सन् २०१९ को सुरु देखि नै तलब नपाएका खेलाडीहरुले क्यानले तलब दिन सकिरहेको थिएन । आईसीसीको शर्त अनुसार क्यानको निर्वाचन भएपनि आर्थिक गतिविधिका लागि भने अझै अवस्था असहज रहेको छ । विशेषगरी आईसीसीले दिने अनुदान रकम निकासा नगरेकाले क्यानले खेलाडीलाई तलब दिन नसकेको हो ।
ए श्रेणीमा रहेका खेलाडीको मासिक तलब ४५ हजार, बी श्रेणीमा हुनेको ३५ हजार र सी श्रेणीमा हुनेको २५ हजार तलबको दरले एक वर्षको एकमुष्ठ तलब पाउनेछन्
यसअघि आईसीसीले सन् २०१९ को फेब्रअरीमा नेपाली खेलाडीहरुको दुई वर्षको तलब एकमुष्ट पठाएको थियो । क्यान निलम्बनको अवस्थामा रहेकाले आईसीसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई तलब शीर्षकमा १ करोड २ लाख ७८ हजार पठाएको थियो । त्यसयता नेपाली खेलाडीले तलबको रुपमा पाउनु पर्ने रकम पाउन सकेका छैनन् । क्यानले पनि आईसीसीसँग बलियो पहल गर्न नसक्दा तलब आउन नसकेको एक खेलाडीले नेपाल फेसलाई जानकारी दिए ।
पछिल्लो समय क्यानले खेलाडीको तलब लगायतका कामको लागि आर्थिक समस्या परेको जनाउँदै पत्र लेखेपछि भने आईसीसीले खेलाडीको विवरण र हस्ताक्षरसहित कागजात पठाउन आग्रह गरेको थियो । क्यानले आवश्यक सबै कागजपत्र पठाएकाले तलब निकासा भएको हो ।
यसरी पठाइएको नाममा ए श्रेणीका सात जना, बी श्रेणीका ७ जना र सी श्रेणीका सात खेलाडी छन् । यस्तै प्राविधिकमा नेपाली टोली भिडियो एनालिष्ट तथा व्यवस्थापक रमण शिवाकोटी समेत रहेका छन् ।