काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन् ।
‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ,’आज एक विज्ञप्ति जारी गर्दै मेयर शाक्यले भनेका छन्,’ ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।’
उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको स्मरण गराएका छन्।
‘विश्व नै अहिले कोरोनाको कहरमा छ । नेपालमा पनि हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गैरहेको छ । संघीय राजधानी काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ,’ उनले भने छ,’ ‘यस्तो जटिल परिस्थितिमा समेत उच्च सावधानीका अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा मलाई संक्रमण पुष्टि भएको छ ।’
भदौ १४ गते आइतबार शाक्यको धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखिएको र दुुबै जना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेर परिक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको पनि जनाएका छन् । ‘चिकित्सकको सल्लाह अनुसार नै हामी दुबैले पीसीआर परीक्षणका लागि स्वाब दिएका थियौँ । धर्मपत्नीको परिक्षणसँगै दुबैको स्वाब दिएपछि हामी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेका थियौं,’ उनले भने, ‘सोमबार अस्पतालबाट हामी दुबैको पीसीआर रिपोर्टबारे जानकारी प्राप्त भयो । अस्पतालले दिएको जानकारी अनुसार मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो । धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ ।’
शाक्यले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण देखिएको जानकारी दिए । ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन्, ‘जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु । होम आइसोलेसनमा रहे पनि काठमाडौँ महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
उनले विज्ञप्तिमार्फत लकडाउनको सुरुको अवस्थादेखि अहिले जारी निषधाज्ञासम्म काठमाडौँवासी र सेवाग्राहीको सेवामा घरपरिवार र जीवनको समेत प्रवाह नगरी कठिन अवस्थामा पनि अहोरात्र खटिएका जनप्रतिनिधि र कर्मचारीप्रति उच्च सम्मान दर्शाएका छन् । ‘कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन । यस्तो अबस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा–प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु,’ उनले थप भने, ‘काठमाडौँ महानगरपालिका र उपत्यका नगरपालिका फोरमका दैनन्दिन कामलाई निरन्तर अघि बढाउन प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
आफूलाई हजारौँ शुभेच्छुकले व्यक्त गरेको अपार शुभेच्छाप्रति उनले खुशी रहेको बताए । ‘विभिन्न राजनीतिक दल, संघ–संस्था र विभिन्न ओहदामा रहनु भएका व्यक्तित्वहरुले गर्नु भएको शुभेच्छालाई पनि मैले ग्रहण गरेको छु । सबैका शुभेच्छालाई यहि अपिलमार्फत धन्यवाद भन्न चाहन्छु,’ ‘मलाई संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म मेरो प्रत्यक्ष सम्पर्कमा आउनु भएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पीसीआर परीक्षण गराउनु हुन पनि अनुरोध गर्दछु ।’
उनले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गरे । ‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु,’ उनले विज्ञप्तिमार्फत भनेका छन् ।