रुपन्देही । कोभिड १९ को महामारीका कारण यो पटक चाडबाड मनाउँदा विगतमा जस्तो आफन्तदेखि साथीभाइ जमघट नगर्ने बैकल्पिक उपाय अवलम्बन गर्न सरकारले आग्रह गरिसकेको छ । महिलाहरुले पर्व तीज र पन्चमी निषेधाज्ञाका कारण घरमै मनाउनुपर्यो । सरकारले मन्दिरमा नजान दिएको निर्देशन उल्लंघन हुने र भीडभाड हुने देखेर सरकारले निषेधाज्ञा नै लगायो । अब २०७७ भदौ १७ बाट सोह्रश्राद्ध सुरु हुँदैछ ।
सोह्रश्राद्ध(पितृपूजन) कार्यक्रम पनि बैकल्पिक विधि विद्युतीय(भर्चुअल) माध्यमबाट सोह्रश्राद्ध गर्ने ब्यवस्था मिलाउन स्थानीय निकायले आग्रह गरिरहेका छन् । यसको सुरुवात औपचारिक रुपमा सूचना नै निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको छ । तिलोत्तमा नगरपालिकाले २०७७ भदौ १२ मा सूचना नै निकालेर भर्चुअल सोह्रश्राद्ध गर्न अनुरोध गरेको छ । सूचनामा उल्लेख छ–‘एक जना पुरोहित सोह्रश्राद्ध कार्यमा एकै दिनमा धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा यसपटक विशेष परिस्थितिका कारण यथासक्य वैकल्पिक तरिकाले विद्युतीय(भर्चुअल) माध्यमबाट श्राद्ध गर्ने गराउने ब्यवस्था मिलाउने ।’
महामारीको समयमा परम्परागत संस्कार, संस्कृति, धर्म, पूजाजस्ता कार्यहरु जगेर्ना गर्ने हामी सबैको परम कर्तब्य रहेको उल्लेख गर्दै तोकिएकै मितिमा गर्नुपर्ने सोह्रश्राद्ध कार्यमा यसपटक बैकल्पिक बिधि अपनाउन सकिने बिषयमा गुरु पुरोहितहरुले समेत यस बिषम परिस्थितिमा प्रविधिको उच्चतम प्रयोग गरी समयमै आफ्ना यजमानहरुसँग परामर्श गरी सोही बमोजिम तयार रहनका लागि जानकारी गराउन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले कोरोना महामारीमा प्रविधिको प्रयोग गरी सोह्रश्राद्ध गरौं भनेर सूचना निकालेको स्वीकार गरे । उनले भने–‘श्राद्ध गर्ने पुरोहित धेरै वटा घरमा जाने भएकाले कोरोना संक्रमण फैलिनसक्छ भनेर हामीले वैकल्पिक बिधि अपनाउन अनुरोध गरेका हौं । केही पुरोहितहरुले वैकल्पिक बिधिबाट श्राद्ध गर्न सकिनेबारेमा छलफल पनि गरिरहनुभएको छ ।’
मेयर घिमिरेले भने, पुरोहितका लागि छुट्याएको चामल लगायतका नसड्ने सामग्री पोको पारेर राखिदिने र दक्षिणा पनि पछि नै दिनेगरी भर्चुअल विधिबाट श्राद्ध गर्र्नुपर्छ । दक्षिणा बैंकखाता हुनेहरुका लागि बैंक खुलेपछि जम्मा गरिदिन पनि सकिने लगायतका उपाय अबलम्बन गर्न सकिन्छ ।
नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषलले तिलोत्तमा नगरपालिकाले बैकल्पिक विधिबाट श्राद्ध गर्न गरेको आग्रहको बिरोध गरेका छन् । सोह्रश्राद्धको बारेमा नगरपालिकाले निर्णय गर्न नसक्ने उनको भनाइ छ । अनेक बाहानामा सनातन परम्परामाथि प्रहार सहन गर्न नसकिने भन्दै उनले बुटवलका आफ्ना समर्थकलाई तिलोत्तमा नगरपालिकासँग कुरा गर्न आग्रह गरेका छन् ।
सहर बजार र इन्टरनेटको पहुँच भएको ठाउँमा त भर्चुअल बिधिबाट सोह्रश्राद्ध गर्न सकिन्छ । तर इन्टरनेटको पहुँच नभएका गाउँहरुमा त पुरोहितलाई बोलाएर श्राद्ध गर्नुको विकल्प छैन ।
