काठमाडौं । सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि कृषकहरु तस्करीको मल बढी मूल्य तिरेर खरिद गर्न बाध्य हुँदैआएका छन् । ३ बर्षदेखि सरकारले मल खरिद गर्नसकेको छैन । ३ बर्षअघि तत्कालीन कृषि मन्त्री घनश्याम भूसालले मल खरिदको टेण्डर पाएको शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले ल्याउन नसकेपछि कालोसूचीमा राखेका थिए । उनले बंगलादेशबाट जीटुजी प्रक्रियाबाट मल ल्याउन खोज्दा पनि भारतको असहयोगका कारण सम्भव भएको थिएन । भूसाल मन्त्रीबाट बिदा भएपछि ४ जना कृषि मन्त्री फेरिइसकेका छन्, तर मल खरिद गर्न सकेका छैनन् । सरकारले नसके पनि चीनको तातोपानी नाका हुँदै तस्करीको माध्यमबाट अरबौंको रासायनिक मल नेपालमा भित्रने गरेको छ । तस्करीबाट भित्रिएको मल बजारमा छ्यापछ्याप्ती हुँदा पनि सरकार भने मलको ग्लोबल टेण्डर गरी आयात गर्न उदासिन छ । तस्करीको मल भित्र्याउनेहरु बालुवाटारकै छत्रछायाँमा भएकाले पनि सरकार मलको ग्लोबल टेण्डर गरी किसानलाई सर्वसुलभ रुपमा मल उपलब्ध गराउन गम्भीर नभएको आरोप लाग्ने गरेको छ ।
कसरी हुन्छ तातोपानीबाट मल तस्करी ?
चीनबाट तस्करीको मल भित्र्याउनेमा सिल्क ट्रान्सपोर्टका रमेश शेर्पा र सुनिल गोयल हुन् । नेपालमा टेण्डर प्रक्रियाबाट मल आयात हुन नदिने र तस्करीको मल भित्र्याएर कालोबजारीमा बिक्री गर्ने कार्यका ग्रान्ड डिजाइनर भने सुनिल गोयल हुन् । उनका बिरुद्ध राजस्व छलीको उजुरीमा छानबिन सुरु भएपछि उनको भेट १ बर्षअघि राजस्व अनुसन्धान विभागका तत्कालीन निर्देशक दयानन्द केसीसँग भयो । गोयलले केसीसँग भेटेपछि राजस्वको छानबिन पनि ढिसमिस पारे । गोयलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा बालुवाटारकी शक्तिशाली स्वकीय सचिव गंगा दाहालसँग कनेक्सन थियो । त्यही कनेक्सनका आधारमा गोयलले ६ महिनाअघि दाहालमार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई भनेर उपसचिव केसीलाई भन्सार विभाग हुँदै तातोपानी भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरुवा गराएका थिए । शेर्पा र गोयलको समूहले तस्करीको मलमात्र होइन, चीनबाट सिल्क ट्रान्सपोर्टले सुन समेत ल्याउने गरेको आरोप छ ।
दयानन्द केसीलाई तातोपानी भन्सारको प्रमुख भन्सार प्रशासक बनाएपछि रमेश शेर्पासँग मिलेर गोयलले चीनबाट निर्बाध रुपमा नेपालमा मल तस्करी गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार त्यही तस्करीको मल कृषकहरुले कालोबजारीमा खरिद गरी अन्नबालीमा प्रयोग गर्दैआएका छन् । बालुवाटारकै संरक्षणमा गोयल र शेर्पाले मल तस्करी गरेका छन् । मल तस्करीबाट अकूत आर्जन गरेका गोयलले बालुवाटारमा चिनियाँ बीवाईडी इलेक्ट्रिक गाडी ३ वटा उपहार नै दिएको भन्ने गरेका छन् । जुन गाडीको मूल्य बजारमा ६५ लाख रुपैयाँ पर्छ । उपहार दिएकोमध्ये एउटा गाडी गंगा दाहालकी छोरी स्मीताले प्रयोग गर्दैआएको पनि गोयलले भन्ने गरेका छन् ।
तस्करीको मल भन्सारकै मिलेमतोमा तातोपानीबाट नेपालमा भित्रिरहेकोबारेमा भन्सार प्रशासक दयानन्द केसीले भने–‘कएक डेढ बर्षअघि नै तस्करीबाट मल आएको हो । त्यही पनि मलमा त भन्सारछुट नै छ नि, कसरी तस्करी हुन्छ र ?’ उनको भनाइ छ–‘नेपाल सरकारले स्वीकृति दिनुपर्छ, आयात गर्न पाइहाल्छ ।’
नेपाल सरकारले स्वीकृति दिएर भित्रिएको छ त भन्ने जिज्ञासामा उनले भने, ‘म ६ महिनाअघि भन्सारमा आएको हुँ । म तातोपानी भन्सारको प्रमुख भएर आएपछि मल तस्करी भएको छैन ।’
कोरोनामा सुन तस्करीमा मुछिएका थिए रमेश शेर्पा
कोरोना महामारी फैलिन नदिन तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ११ देखि देशमा लकडाउन घोषणा गरेको समयमा तातोपानी नाकाबाट लसुन लगायतका अत्यावश्यक सामान ल्याएको भनी राति राति सयौं ट्रकहरू सशस्त्र र नेपाल प्रहरीले स्कटिङ गरी काठमाडौं ल्याइएका थिए । ती ट्रक रमेश शेर्पाकै सिल्क ट्रान्सपोर्टका थिए । नेपाल र सशस्त्र प्रहरीको गाडी अघि पछि लगाएर कन्टेनर नेपालतर्फ ल्याउने र त्यसमा सुन नै ल्याएको समाचार त्यतिबेला सार्वजनिक समेत भएको थियो । अति आवश्यक सामानमात्र ल्याउनुपर्नेमा अवैध रुपमा सुन तस्करी भएको भनी भोटेकोशी गाउँपालिकाका ४ जना वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले तातोपानी भन्सार कार्यालयका तत्कालीन प्रमुख लालबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
कोरोना महामारीमा २०७७ बैशाख सुरुमा उनीहरूले स्वास्थ्य सामग्री मात्र ल्याउन माग गरेका थिए । जबर्जस्ती सामान ल्याएमा र संक्रमण नहुने ग्यारेन्टी नगरेमा आयातित स्याउ र लसुन नष्ट गर्ने चेतावानी वडाध्यक्षले दिएका थिए । तर पनि सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पाले दैनिक ट्रकका ट्रक सामान भित्र्याएका थिए । ती ट्रक किन राति राति प्रहरी स्कटिङमा ल्हासाबाट तातोपानी ल्याइयो भनी श्रेष्ठले प्रश्न उठाका थिए । ती ट्रकमा के ल्याइएको थियो, प्रहरीले चेक किन गरेन ? भन्दै सुन त ल्याइएको थिएन भनेर वडाध्यक्ष श्रेष्ठले भिडियो नै सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका थिए ।
तातोपानी नाका रहेको भोटेकोशी गाउँपालिका ५ का वडाध्यक्ष श्रेष्ठले तातोपानी भन्सारका तत्कालीन प्रमुख खत्री, सिन्धुपाल्चोकका तत्कालीन सीडीओ उमेश ढकाल र एसपी प्रज्वल महर्जनको मिलेमतोमा रमेश शेर्पाले सुन धडाधड ल्याउने काम गरेको आरोप पनि लगाएका थिए ।
लकडाउनका बेला सहजरुपमा सामान आयात हुनुपर्ने तातोपानी नाकामा सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पाको एकलौटीका कारण तनाव उत्पन्न भएको थियो चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पाको लगानी रहेको सिल्क ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनरले त्यतिबेला लसुन, फलफूल ल्याएको भनी सुन ल्याउने गरेका थिए भने अहिले तस्करीको रासायनिक मल भित्र्याउने गरेका छन् ।
५ बर्षअघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका पूर्व मेयर निमफुन्जो शेर्पाका भान्जा हुन् । उनका बाबु सामान्य ह्यान्डीक्राफ्टको काम गर्थे । बैध, अवैध धन्दाकै कारण दिन दुई गुणा रात चौगुणाका दरले बृद्धि भएर रमेश अहिले अर्बपति भइसकेका छन् ।
सामान्य परिवारमा जन्मेका रमेशको अहिलेको आर्थिक अवस्था देख्नेहरू जो कोही पनि आश्चर्य मान्छन् । देखावटी रुपमा सिल्क ट्रान्सपोर्ट नामक कम्पनी खडा गरेका र नेपाल–चीन ब्यापार गरेको देखाउँदै आएका शेर्पाको मुख्य ब्यवसाय नै अबैध कारोबार भएको स्रोतको दाबी छ । ललितपुरको बालकुमारीमा ३८ आना जग्गामा सिल्क ट्रान्सपोर्ट कम्पनीको गोदाम तथा ग्यारेज निर्माण गरेका शेर्पाको बौद्ध आरुबारीमा २२ आना जग्गामा स्वीमिङ पुलसहितको अत्याधुनिक बंगला रहेको स्रोत बताउछ । महलभित्रै स्वीमिङपुल रहेको घरमा भूमिगत गोदाम रहेको शंका गर्नेहरू धेरै छन् ।
कुनै समय हुण्डीको कारोबारमा ७० लाख नगदसहित समातिएका शेर्पाले बाह्रबिसेका एक सामान्य व्यक्तिलाई उक्त कारोबार स्वीकार्न लगाई जेल पठाएका थिए । जेलबाट छुटेलगत्तै उनी हाल बेलायत पुगेका थिए । बालकुमारीको जग्गा भने राष्ट्र बैंकमा कार्यरत मोहन श्रेष्ठबाट खरिद गरेका थिए ।
तिनै मोहन श्रेष्ठले लिपिङ हाइड्रोपावरमा ६ करोड लगानीसमेत गरेको राष्ट्र बैंक स्रोतले बतायो । भोटेकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भइरहेको हिम रिभर हाइड्रोमा दश करोडको शेयर लगानी गरेका शेर्पाको अबैध ब्यवसायका कारण करोडौंको आम्दानी भएको उनी निकटहरू बताउँछन् ।
चीनबाट भारत सुन तस्करी गर्ने आरोप खेप्दै आएका रमेशको सामान तीन पटक भारतमा समेत पक्राउ परेको स्रोत बताउँछ । नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा पनि रमेशकै नाम जोडिने गरेको थियो । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको सुरक्षा स्रोत बताउँछ । पटक पटक भारत सुन सप्लाई गर्दै आएका शेर्पाका भिनाजु बिजय शेर्पा १६ किलो सुनसहित भारतमा पक्राउ परेका थिए । उता नेपालमा भिनाजुका दाइ पर्ने साइँला भनेर चिनिने व्यक्ति समेत ६ किलो सुनसहित समातिएका थिए ।
को हुन् भन्सार प्रमुख दयानन्द केसी ?
तातोपानी भन्सारका प्रमुख दयानन्द केसी पनि अर्थका अरबपति उपसचिव हुन् । उनी रसुवा भन्सार, एयरपोर्ट भन्सारदेखि राजस्व अनुसन्धान विभागमा हुँदा पनि विवादमा परिरहने पात्र हुन् । रसुवा भन्सारमा भएको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको अकूत सम्पत्तिको उजुरी उनले दीप बस्नेत प्रमुख आयुक्त भएको समयमा तामेलीमा राख्न लगाएका थिए । दीप बस्नेतका पीए राजस्व समूहकै अधिकृत लक्ष्मण बास्तोलामार्फत् डिल गरी केसीले उजुरी तामेलीमा राख्न लगाएका थिए । बाँस्तोला पनि तातोपानी भन्सारमै कार्यरत छन् ।
बाँस्तोला रसुवा भन्सार कार्यालयमा दरबन्दी भए पनि दीप बस्नेत प्रमुख आयुक्त हुँदा उनको पीएमा बसेका थिए । दीप बस्नेतले बाँस्तोलामार्फत् राजस्व समूहका अधिकृत र उपसचिवहरुको उजुरी दररेट तोक्दै असुुली गरी तामेलीमा राखेको आरोप लागेको थियो ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend