जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकास्थित दुहबीमा तस्कर र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ । प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर २ र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोली छोगडा, मरिच र केराउ तस्करी गर्न लागेको सूचना पाएपछि छापा हान्न गएको थियो । छापा हान्न गएको बेला प्रहरी टोलीमाथि तस्कर राजीव महासेठको समूहले ढुंगामुढा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतको कमाण्डमा गएको टोलीमाथि अचानक ढुङ्गामुढा भएपछि प्रहरीहरु केही समयका लागि ब्याक भएका थिए । सोही समयमा राजीव महासेठले भारत दुहबीका दलित बस्तीबाट करिब ६० जना मान्छे ल्याएर गोदाममा राखेको करिब १ सय बोरा छोगडा, ८० बोरा कालो मरिच, २ सय बोरा केराउ भारततर्फ पास गराएका छन् । नेपालको धनुषाका सीमानाकाबाट महासेठलले छोगडा, मरिच र केराउ लामो समयदेखि भारततर्फ तस्करी गर्दैआएका छन् ।
महासेठले नेपालबाट मदिरा, केराउ, मरिच लगायतका सामान ठूलो परिमाणमा पठाउने गरेका छन् भने भारतबाट खानेतेल, चिनी, रासायनिक मल, रजनीगंधा गुट्खा, पाउडर दुध लगायतका खाद्यान्न भित्र्याउने गरेका छन् । दुहबी नाकाबाट महासेठ बाहेक सन्तोष साह, पचकौरी साह, बिन्दकुमार, राजेश साह लगायका कयौं ब्यापारीहरुबाट दैनिक करिब ५ सय मोटरसाइकलमा तस्करीका सामान नेपाल भित्रिने गरेका छन् ।
आज बिहान मात्रै प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर २ का टोलीले बिदेह नगरपालिकास्थित वडा नम्बर १ बस्ने लियाकत कवाडीको घरबाट ३० बोरा केराउ छापा हानी पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी र सीमा प्रहरी चौकी मूकदर्शक
सीमामा हुने अबैध गतिबिधि नियंत्रण तथा रोकथामका लागि स्थापना भएका सशस्त्र सीमा सुरक्षा बल महिनाथपुर र सीमा प्रहरी चौकी दुहबी मुकदर्शक बनेका छन् । करिब २ किलोमिटरको दूरीमा प्रहरी चौकी ठाढीझिझा र सशस्त्र सीमा सुरक्षा बल महिनाथपुर र सीमा प्रहरी चौकी, दुहबी रहेका छन् । तर सीमा प्रहरी र सशस्त्रकै सामुने भन्सारछलीका सामान ओसारपसार हुँदैआएको छ ।
आफूलाई केही थाहा नभएको र आफ्नो एरियाबाट कुनै किसिमको चोरी निकासी पैठारी नभएको सशस्त्र सीमा सुरक्षा बल महिनाथपुरका इन्सपेक्टर दिलेन्द्र खत्रीको दाबी छ । स्रोतका अनुसार राजीव महासेठसँग मात्रै महिनावारी घुस लिएर निर्धक्क तस्करी गर्न छुट दिने काम सीमा प्रहरी र सशस्त्रले गरेको आरोप छ । महासेठले मासिक १ लाख ८० हजार रुपैयाँ सीमा प्रहरीलाई दिने गरेका छन् । त्यसैगरी महासेठको तस्करीलाई छुट दिएर भन्सार सुरक्षा बेस, धनुषामा कार्यरत सहायक हबल्दार दिपेश सिंहले सशस्त्र प्रहरी गण, ८ नम्बर र भन्सार सुरक्षा बेस गरी दुबै ठाउँका लागि ३ लाख रुपैयाँ महिनावारी लिने गरेको श्रोतको दावी छ ।
केही दिनअघि मात्रै सीमा प्रहरी चौकी, दुहबीको आगाडिबाट बैतुल्लाह भन्ने तस्करको लत्ताकपडा स्थानीले पक्राउ गरी भन्सार बुझाएका थिए । सो कपडाको करिब १२ लाख रुपैयाँ भन्सारले मूल्यांकन गरेको थियो । सोही काण्डमा त्यहाँ कार्यरत सई तानिएका थिए । त्यो घटना सेलाउन नपाउँदै जनकपुरबाट मिनी पिकअपमा केराउ लोड गरी दुहबी ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय औरहीका सई बब्लु ठाकुरले ८० हजार रुपैयाँ घुस लिएर छाडेको आरोप लागेको थियो ।
यता सशस्त्र प्रहरी गुल्म, धनुषा भन्सार गुल्ममा कार्यरत दिपेश सिंह तस्करसँग सेटिङ गर्न माहिर चलाक सहायक हवल्दार हुन् । जागिर अवधिको अधिकांश समय सिंह धनुषामै कार्यरत छन् ।
अरु कर्मचारी भन्दा रकम उठाएर दिने सिंह हाकिमको पहिलो रोजाईमा पर्ने भाग्यमानी हुन् । हाल धनुषाभरका सबै तस्करहरुसँग उनको बाहेक कसैको पहुँच राम्रो छैन । जयनगर, इनर्वादेखि फुलगामासम्मका सबै तस्करसँग राम्रो पक्कड बनाएका सिंह केही महिना आगाडि अबैध पैसा उठाउने काण्डमा तानिएका थिए । सोही काण्डमा तानिएका कारण उनलाई तत्कालीन सशस्त्रका डिआइजी राजु अर्यालले केही महिना बर्दिबास राखेका थिए र पछि उनलाई त्यहाँबाट महोत्तरी गणमा पठाएका थिए ।
पटक पटक विवादमा परेका सिंहले करिब डेढ बर्षआगाडि जिल्लाका घुमुवाका रुपमा रहेका चन्देश्वर गिरीलाई समेत घुस लिने कार्यमा फँसाएका थिए । जिल्ला घुमुवा गिरी हुने बितिकै सिंहलाई आफनो पद गुमेको रिस थाम्न नसकेर कालिचरण भन्ने एक जना तस्करीमा संलग्न ब्यक्तिलाई उचालेर गिरीलाई फसाएका थिए ।
सिंगो सशस्त्र प्रहरी संगठनलाई बदनाम गर्ने सिंहलाई अहिले भन्सार सुरक्षा बेस क्याम्पमा कार्यरत इन्स्पेक्टर बाबुराम थापाले पुनः धनुषा ल्याएका छन् । उनी धनुषा जाने बितिकै बन्द भएका तस्करी पुनः सञ्चालन भएका छन् ।
जागिरे जीवनमा प्रायः सधैं धनुषामा कार्यरत सिंहकै कारण तस्करी बढेको छ । तर उनलाई सशस्त्रका हाकिमहरुले धनुषामै राखेर उनीमार्फत् मासिक रुपमा घुस लिने गरेका छन् । उनलाई धनुषा मात्र किन राखिएको हो भन्ने सवाल पनि उठिरहेको छ । १० बर्षदेखि सिंह धनुषाका नाकामा बसी तस्करसँग कनेक्सन गरी हाकिमलाई खुसी पार्ने गरेका छन् ।