Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचनका लागि बारा २ मा एमालेले पूर्वमन्त्री पौडेलसहित ३ जनाको नाम सिफारिस गर्दै


    शनिबार, चैत्र १८ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सिमराः आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा क्षेत्र नं. २ मा नेकपा एमालेले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित ३ जनाको नाम सिफारिस गर्ने भएको छ। जिल्ला कमिटीले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

    साह एमाले प्रदेश कमिटी सदस्य र सिंह अनेमसंघ बाराकी अध्यक्ष हुन्। बारा २ मा उपनिर्वाचन हुने भएपछि एमालेवृत्तमा पौडेललाई उम्मेदवार बनाउनुपर्ने चर्चा चलिरहेको थियो। २०७० सालमा बारा क्षेत्र नं. ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका पौडेल त्यसयता चुनाव लडेका छैनन्। उनी सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका थिए।

    पछिल्लो दुई निर्वाचनमा बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आकांक्षी रहेका पौडेलले टिकट पाएनन्। उनी आकांक्षी रहेको क्षेत्रमा अच्युत मैनाली उम्मेदवार बने। २०७४ सालमा पराजय व्यहोरेका मैनाली यसपटक नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

    सप्तरी २ बाट पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने निश्चित भएसँगै एमालेले हेभिवेट उम्मेदवारका रुपमा पौडेललाई अघि सार्न थालेको हो। उपराष्ट्रपति रामसहाय यादवले एमालेसंगको तालमेलमा सो क्षेत्रबाट चुनाव जितेका थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार