काठमाडौं । शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई नेकपाको भातृ संगठन अनेरास्ववियुले २१ सुत्रीय माग सहितको ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्बन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्बन्धित १० वटा माग प्रस्तुत गरिएको छ।
कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताए।
ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हरहालतमा खेर जान नदिन , वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाई सहजिकरण निर्देशिका ०७७ को समीक्षा र अनुगमन गरि त्यसलाई शैक्षिक सत्रकै अङ्ग बनाउन माग गरेको छ। त्यसैगरी कक्षा ११ मा भर्ना हुनुका लागि यस वर्ष तय गरिएको एसईई ग्रेडिङ मापदण्डलाई स्थगित गरी गतवर्षको मापदण्ड अनुसार नै भर्ना गर्ने अनेरास्ववियुले माग गरेको छ।
अनेरास्ववियूले विद्यालय तहका विद्यार्थीको भर्ना अभिलेख राख्न र कक्षान्नोत्ति गर्न तथा होम सेन्टरको व्यवस्था गरी कक्षा १२ को परीक्षा चाँडोभन्दा चाँडो गर्न माग गरेको छ। त्यसैगरी शैक्षिक वातावरण बनाउन आइसोलेशन र क्वारेनटिन रहेका विद्यालयहरुमा डिइन्फेक्शन गर्न र क्वारेन्टिनको वैकल्पिक व्यवस्था गर्न समेत माग गरिएको छ।
विश्वविद्यालय तर्फ अनलाइन तथा बैकल्पिक कक्षा र परीक्षा प्रणालीको तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डिन कार्यालयला२ प्रदान गर्न माग गरिएको छ। सेमेस्टर प्रणालीमा चलेका कक्षाहरुको हकमा स्वत: सेमेस्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमसः बाँकी रहेका सबै समेस्टरहरुको परीक्षा गराउन माग गरिएको छ।
यसैगरी अनेरास्ववियूले विद्यार्थीलाई लक्षित गरेर सबै शिक्षण संस्थाहरुमा वाइफाइ तथा विद्यार्थीहरुलाई सुपथ रुपमा एनटिसि तथा एनसेल डाटा प्याकको व्यवस्था गर्न सरकारसँग विशेष माग गरेको छ। त्यसैगरी रिक्त रहेका विश्वविद्यालयहरुमा यथाशीघ्र पदाधिकारी नियुक्ति गर्न माग गरिएको छ।
यसैगरी नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिललगायत सम्पूर्ण व्यवसायिक परिषदबाट लिइने लाइसेन्स परीक्षाहरु बैकल्पिक प्रणालीद्वारा सञ्चालनको व्यवस्था गर्न समेत माग गरिएको अनेरास्ववियु नेता सुरेन्द्र बस्नेतले बताए।
