काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित थप आठ जनाको मृत्यु भएको जानकारी दिए।
प्रवक्ता गौतका अनुसार कोरोना संक्रमणबाट ललितपुरकी ६५, बाराकी २३, कास्कीकी ३२, रुपन्देहीकी ६२ र बाँके ७० वर्षीया महिला तथा काठमाडौंका ४८, पर्साका ६२ र कपिलवस्तुका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय ३९ पुगेको उनले बताए ।