काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
पहिलो चरणमा मन्त्रालयले लुक्ला, रोल्पा, सिमिकोट, रारा, ताप्लेजुङ, संखुवासभा, पोखरा, काठमाडौं र सुर्खेतसम्म आन्तरिक उडान गर्न दिने तयारी गरेको हो ।
अहिले तत्कालका लागि तराईका क्षेत्रमा भने हवाइ सेवा सञ्चालन सम्भव नभएको मन्त्रालयको निष्कर्ष छ ।
भदौ १६ देखि अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने भएकाले पनि आन्तरिकतर्फ पनि कोरोना संक्रमण न्यून भएका एवं नभएका गन्तव्यमा सुचारु गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकता दिएको छ । सोहीअनुसार मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषद् बैठकमा समेत नमुनाका रुपमा भए पनि केही निश्चित स्थानमा हवाई सेवा सञ्चालन गर्न दिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको वा नगरेको भन्ने विषयमा औपचारिक जानकारी भने गराइएको छैन ।
मन्त्रालय स्रोतका अनुसार सुरुमा हिमाली तथा पहाडी क्षेत्रमा आन्तरिक एडान सञ्चालन गर्न सकिने विषयमा छलफल भैरहेको छ । यसका लागि नागरिक उड्डयन प्राधिकरणले सुरक्षा मापदण्ड ‘प्रोटोकल’ स्वीकृत गरिसकेको छ ।