कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।
बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताए ।
उच्च ज्वरो देखिएका ४ जनालाई कैलालीको धनगढी उपचारका लागि पठाईएकोमा केही निको भएर घर फिर्ता भएको र केही उपचारका क्रममा रहेको शाखा प्रमुख महराले जानकारी दिए ।
उनका अनुसार मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना जाँचका लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।
उच्च ज्वरोको समस्या लिएर आउने व्यक्तिहरुमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिससंग मिल्दोजुल्दो लक्षणहरु रहेकाले सो रोगकोसंक्रमण हुन सक्ने उनले बताए ।
दोधारा स्वास्थ्य केन्द्रका अनुसार १० दिन अघिदेखि उच्च ज्वरोको समस्या देखिएको छ ।
स्वास्थ्य केन्द्रका डा.गगन चौधरीले लक्षण देखिएको ३ देखि ४ दिनभित्र सबैको मृत्यु भएको बताए । उनले ज्वरो आउने वित्तिक्कै प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न स्थानियलाई आग्रह गरेका छन् । रासस