काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएका प्रहरीको संख्या थप बढेको छ । बिहीबार मात्र महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत थप १३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो वृत मात्रै अहिलेसम्म २२ प्रहरी संक्रमित भैसकेका छन् ।
यसअघि गोंगबुमा चक्कु प्रहार गेर २४ वर्षीय लक्ष्मण तामाङको हत्या गर्ने दोर्जी शेर्पामा कोरोना संक्रमण देखिएको थियो । दोर्जीमा संक्रमण देखिएसँगै उनीसँग सम्पर्कमा आएका नौ जना प्रहरीमा पनि संक्रमण देखिएको थियो ।
ती प्रहरीको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप १३ प्रहरीमा संक्रमण देखिएको महाराजगञ्ज वृतले जनाएको छ ।
संक्रमित सबै प्रहरीलाई अहिले आइसोलेशनमा राखिएको छ। नयाँ संक्रमित प्रहरीहरुको पनि कन्ट्याक्ट ट्रेसिङ भैरहेको बताइएको छ ।
यस्तैगरी नेपाल प्रहरीको साइबर ब्यूरोका दुई प्रहरीमा पनि संक्रमण पुष्टि भैसकेको छ । ती मध्ये एक इन्स्पेक्टर रहेका छन् ।