Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रसूति गृहमा २ सय आइसोलेशन शय्या बनाइने


    मंगलबार, भाद्र ९ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले २ सय आइसोलेसन शय्या बनाउने भएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ सङ्क्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ ।

    नेपालमा कोभिडको सङ्क्रमण सुरु भएपछि अस्पतालले सो भवनलाई सम्भावित सङ्क्रमित र सङ्क्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए । 

    अस्पतालमा अहिलेसम्म सम्भावित संक्रमित भनेर राखिएका १ सय मध्ये १ जनामा मात्रै कोभिड पोजेटिभ आएको थियो । अबको दिनमा सम्भावितलाई थापाथलीस्थित अस्पतालमै अरुभन्दा छुट्टै राखिने अस्पतालले जनाएको छ । 

    अस्पतालले अहिलेसम्म विभिन्न कुराका आधारमा झण्डै १ सय महिलालाई सम्भावित सङ्क्रमितका रुपमा अरुभन्दा छुट्टै राखिसकेको थियो । तीमध्ये एकमा पोजेटिभ देखिएकीलाई पाटन अस्पताल पठाइएको थियो । 

    कोभिड–१९ को संक्रमण आगामी दिनमा अझै बढ्न सक्ने भनी अस्पतालले कर्मचारी व्यवस्थापनमा समेत ध्यान दिएको अधिकारीले बताए ।

    कार्यरत चिकित्सकमध्ये आधा मात्रै अस्पतालमा आउने गरेका छन् । सरकारले निषेधाज्ञा जारी गरेसँगै अस्पतालले कार्यरतमध्ये सबै कर्मचारीलाई अस्पताल नबोलाएको हो । १ साता खटिएकाहरु १ साता नआउने गरी आलोपालो गरी काम तोकिएको उनले  बताए । 

    अस्पतालमा कार्यरतलाई यसअघि पनि सङ्क्रमण देखिएकाले आगामी दिनमा पनि सेवा नियमित सञ्चालनका लागि योजना बनाइएको हो । 

    अस्पतालले बहिरङ्ग सेवा नियमित गरे पनि सेवा लिन आउनेको सङ्ख्या नियमित समयभन्दा झण्डै आधा कम छ । अस्पतालमा अहिले सुत्केरी हुनका लागि आउने वा आकस्मिक सेवाका लागि आउनेको सङ्ख्या भने कम भएको छैन ।

    सरकारले ४ महिनासम्म बन्दाबन्दी जारी राखे पनि गत आवमा विगत वर्षभन्दा सुत्केरी हुनेको संख्या कम नभएको अस्पतालको तथ्याङ्कले देखाएको छ । 

    अस्पतालमा आउने बिरामीमध्ये संक्रमणणको जोखिम देखिएकाको मात्रै परीक्षण गरिँदै आएको उपनिर्देशक अधिकारीले जानकारी दिए ।

    कोभिडका कुनै लक्षण देखिएका बिरामी तथा हटस्पटबाट आएका वा सङ््क्रमितको नजिकको सम्पर्कमा रहेकाको अनिवार्य परीक्षण गरिँदै आएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार