स्याङ्जा । स्याङ्जामा एक वर्षमा नौवटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् । पूर्वाधार विकास कार्यालयले निर्माण थालेका नौवटा पुलमध्ये छवटा र सडक डिभिजन कार्यालयले निर्माण थालेका १० वटामध्ये तीनवटा पुल निर्माण सम्पन्न भएका हुन् ।
कोरोना भाइरसका कारण देशभर सरकारले चैत ११ गतेबाट बन्दाबन्दी गरे पनि स्याङ्जामा उक्त अवधिमा विकास निर्माणका कामले निरन्तरता पाएका थिए ।
स्याङ्जाको भीरकोट नगरपालिकाको लुब्दी खोलामा निर्माण सुरु गरिएको पक्की पुल सबैभन्दा छिटो छ महिनामै बनेको छ । २०७६ असोजमा सम्झौता भई मङ्सिरबाट निर्माण कार्य सुरु गरिएको उक्त पुल वैशाखमा सम्पन्न भएको पूर्वाधार कार्यालयका प्रमुख सोभियत खड्काले बताउनुभयो । २५ मिटर लम्बाइ र ८.५ मिटर चौडाइ रहेको पुल दुई करोड १५ लाख २१ हजार रुपियाँको लागतमा निर्माण गरिएकोे हो । एक करोड ७५ लाख ३३ हजार रुपियाँको लागतमा २०७६ असारमा सम्झौता गरेको बिरुवा गाउँपालिकाको अम्बोटको पुल निर्माण सुरु भएको १० महिनामै काम सकिएको छ भने एक करोड २७ लाख ५० हजार रुपियाँको लागतमा २०७६ जेठमा सम्झौता भएको वालिङको अर्मादी खोलाको पक्की पुल पनि निर्माण सुरु भएको एक वर्षमै सम्पन्न भएकोे खड्काले बताउनुभयो ।
यसैगरी नागडाँडा, कार्कीनेटा सडक खण्ड अन्तर्गत आँधीखोला गाउँपालिकाको बाँस्कोट खोलामा एक करोड १८ लाख ६० हजार रुपियाँमा २०७६ असारमा सम्झौता गरेको पुल र दुई करोड ९१ लाख ५० हजार रुपियाँको लागतमा २०७५ फागुनमा निर्माण सम्झौता गरेको फेदी खोला गाउँपालिकाको स्थानेचौरको पक्की पुल पनि निर्माण सम्पन्न भएका छन् । त्यस्तै एक करोड छ लाख रुपियाँको लागतमा २०७६ जेठमा सम्झौता भई काम सुरु भएको भुवाने खोलाको पुल पनि यसैवर्ष समयमै निर्माण सम्पन्न भएको छ ।
यसैगरी स्याङ्जाकै पुतलीबजार नगरपालिकाको ढडुवा बाड खोलामा चार करोड ५५ लाख ३९ हजार रुपियाँको लागतमा २०५७ साउनमा सम्झौता गरेको पक्की पुल पनि यसैवर्ष निर्माण सम्पन्न भएको छ । त्यस्तै दुई करोड ६० लाख ८३ हजार रुपियाँको लागतमा २०७५ असारमा निर्माण सम्झौता गरेको चापाकोटको चिते खोला पक्की पुल पनि निर्माण पूरा भएको छ । त्यस्तै दुई करोड ८२ लाख ३२ हजार रुपियाँको लागतमा वालिङको चाङ्दी खोला पुलको पनि निर्माण सकिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा अर्जुन काफ्लेले लेखेका छन् ।