काठमाडौं । कोरोना सङ्क्रमितको संख्या तीब्र रुपमा बढ्दै गएको छ । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा आगामी भदौ १ गतेदेखि संचालन गर्ने भनिएको हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायातसमेत सञ्चालन नगर्न कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आज बसेको बैठकले सिफारिस गरेको छ । सरकारले कोरोना संक्रमण नबढेको अवस्थामा भदौ १ देखि हवाई उडान र यातायात सेवा संचालन गर्ने निर्णय गरेको थियो । तर पछिल्ला दिनमा संक्रमण तीव्र रुपमा बढेपछि सीसीएमसीले हवाई उडान र लामो दूरी संचालन हुने यातायात संचालन नगर्न सरकारलाई सिफारिस गरेको छ ।
सीसीएमसीको बैठकमा मुलुकको पछिल्लो अवस्थाको बारेमा महत्वपूर्ण विचार विमर्श भएको थियो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन, स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको बुझिएको छ ।
मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । सीसीएमसीको बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको संख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो ।
बैठकले स्थानीय तह र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएका छन् । सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ ।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको सचिव गुरागाईले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, सुरक्षाकर्र्मी स्वास्थ्यकर्र्मी, उद्योगी तथा व्यवसायी सबैलाई सुरक्षित रहन सचिव गुरागाईंले आग्रह गरेका छन् ।