Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • आईजीपी थापाले सार्वजनिक गरे कार्ययोजना


    आइतबार, साउन २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन्। आइतबार उनले एक कार्यक्रम मार्फत ‘नेपाल प्रहरीको कार्ययोजना–२०७७’ सार्वजनिक गरेका हुन्।

    उनको कार्ययोजनाको लक्ष्य नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्ने रहेको थापाले बताए । 

    सोही अवसरमा उनले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर, प्रहरी प्रधान कार्यालयस्थित विभागीय प्रमुखहरु, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

    उनले सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समेत भिडियो कन्फ्रेन्समार्फत् कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कार्ययोजनाको उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै १४ वटा विशेष लक्ष्य र १ सय ५७ वटा क्रियाकलापहरू समेटेर तयार गरिएको कार्ययोजनाले आगामी दिनमा नेपाल प्रहरीलाई मार्ग निर्देशन गर्ने बताए।

    नेपाल प्रहरीलाई पद्धतिगत रुपमा अग्रगमनमा लैजान कार्ययोजना सहयोगी हुने विश्वास उनको छ।

    प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील र विनयी भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले भने, ‘संयमित हुनु जरुरी छ तर डराउनुपर्दैन।’

    विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ लाई नेपाल प्रहरीले चुनौतीको रुपमा सामना गरिरहेको अवस्थामा संक्रमित प्रहरी कर्मचारीको आत्मबल बढाउनका लागि विशेष पहल गर्न सम्बन्धित प्रमुखहरूलाई उनले निर्देशन दिए।

    प्रदेश प्रमुखहरूले एकआपसमा समन्वय गर्नुपर्ने उल्लेख गर्दै प्रदेशअनुसारको मौलिक कार्ययोजना बनाई प्राथमिकताका साथ अगाडि बढ्न निर्देशन दिए। सीमा क्षेत्रको तस्करी रोक्न सरोकारवाला निकायहरूसँग समन्वय गरी तत्काल कार्यान्वयनमा लैजान समेत उनको निर्देशन छ।

    नेपाल प्रहरीको कार्ययोजना २०७७ अनुरुप जिम्मेवारीप्रति प्रतिबद्ध, कानुन कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई समग्रमा आम नागरिक र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न सिर्जनशीलता अभिवृद्धि गर्दै नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको प्रधान कार्यालयले जनाएको छ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरुलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थित थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार