Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मिटरब्याज पीडितद्वारा चुनाव बहिस्कारको चेतावनी


    मंगलबार, कार्तिक २९ २०७९
    820
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतापपुरका मिटरब्याज पीडितले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान बहिस्कारको चेतावनी दिएका छन् । उनीहरुले आसन्न निर्वाचन बहिस्कारको चेतावनी दिँदै मिटरब्याजबाट पीडित भएकाहरुको घरमा मतबहिस्कार लेखेर कालो झण्डा गाडेका छन्। यो क्षेत्रका मिटर ब्याज पीडितले उम्मेदवारले आफ्नो समस्या समाधान गर्न कुनै पहल नगरेको भन्दै मतदान बहिस्कार गर्ने बताएका हुन् ।

    पटक–पटक आन्दोलन गर्दै आएका मिटरब्याज पीडित किसानले कुनै पनि दल र उम्मेदवारले आफूहरुको समस्यालाई चुनावी अजेण्डा नबनाएको भन्दै मतदान बहिस्कार गर्ने मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका सदस्य निर्ग नविनले जानकारी दिए। 

    उनी भन्छन्, ‘यस क्षेत्रका उम्मेदवारहरु भोट माग्ने तर मिटरब्याजबाट ठगिएका करिब तीन हजारदेखि पाँच हजारसम्म किसानको समस्याको समाधान नगर्ने?’

    यहाँका उम्मेदवारहरुले पीडितको भन्दा सुदखोरको बचाउ गरेको उनले गुनासो गरेका छन्। पीडितलाई झुटा आश्वासन बाँड्दै गाउँ–गाउँ पसेकाले चुनाव बहिस्कार गरेको उनले बताए। नविनका अनुसार यो क्षेत्रमा मिटर ब्याज पीडित परिवारका ४७ सय जति मतदाता छन् । उनी भन्छन्, ‘उम्मेदवारलाई हाम्रो समस्याको मतलबै छैन । त्यसैले हामी पनि भोट दिन्नौं ।’

    सत्ता गठबन्धनका तर्फबाट यहाँ प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा अर्बपति विनोद चौधरी र एमालेसहितको गठबन्धनका तर्फबाट जनता प्रगतिशील पार्टी(जप्रपा)का अध्यक्ष हृदयेश त्रिपाठी उम्मेदवार रहेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार