काठमाडौं । उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा शुक्रबार १ सय २४ जना कोरोना संक्रमित थपिएपछि स्थिति भयावह बन्दै गएको देखिएको छ । दुई सातायता १ सय ३६ स्थानमा संक्रमित भेटिएको तथ्य सार्वजनिक भइसकेको छ । शनिबार एउटै टोलमा आठ जनालाई संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ । कोरोना पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएको तथ्यांक ईसीडीले निकालेको छ । इसीडीको तथ्यांकमा संक्रमण देखिएकाहरुमध्ये २ नम्बर प्रदेशबाट आएकाको संख्या बढी रहेको छ । भारतबाट आएका पाँच जना मात्र छन् ।
कोरोना संक्रमितका लागि शैया अभावका कारण शुक्रबार २५ जनालाई फर्काइएको तथ्य सार्वजनिक भएपछि उपत्यकामा संक्रमण दर भयावह रुपमा फैलिएको देखाउँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना देखिएको छ ।
तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् ।