काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महतमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका गायक महतले आफू र पत्नी दुबैलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
कोरोना संक्रमणबाट जोगिन प्रयास गरेपनि सफल हुन नसकेको उनले उल्लेख गरेका छन् । गायक महतले हाल आफ्नै घरको आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।
कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् ।